कैलालीको चुरे गाउँपालिकाका ६० घर पहिरो पीडित तराई झरे
2020/12/12, 9:37
 
pahiro

कैलालीको चुरे गाउँपालिकाका ६० घर पहिरो पीडित तराई झरेका छन् ।  चुरे गाउँपालिकाले वडा नम्बर ४ टांकगडामा व्यवस्थापन गर्ने बताएपछि उनीहरु तराई झरेका हुन् ।  गाउँपालिकाको वडा नम्बर ४, वडा नम्बर ५ को तल्लो सिमलगैरा, मल्लो सिमलगैरा, राजवन र वडा नम्बर ६ को गौजना, तितिरे लगायत बस्तीका पहिरो पीडितहरु शुक्रबार राति तराई झरेको संघर्ष समितिका सचिव वीरजीत बोहराले बताए ।

चुरेबाट अत्तरिया हुँदै बसमार्फत चौमाला पुगेका उनीहरु वन क्षेत्रमा बसेका छन् ।  गौरीगंगा नगरपालिकाको चौमाला माघी शिविर क्षेत्रको वनमा बसेको बोहराले बताए । उनले टांकगडामा पानी र खुल्ला क्षेत्र भएकाले गाउँपालिकाले पठाएको बताए । तर स्थानीय सामुदायिक वन उपभोक्ता समूहले उनीहरुलाई बस्न दिएको छैन ।

गाउँपालिकाले २ सय परिवारको व्यवस्थापन गर्ने भन्दै चुरे र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्र पर्ने टांकगडालाई प्रस्ताव गरेपछि उनीहरु जाँदैछन । उनीहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ ।  उपाध्यक्ष दीपा देवी साउँदले पहिरो पीडितहरु तराई गएको बारेमा वडाध्यक्षले फोनमार्फत जानकारी दिएको बताइन् । पहिरो पीडितको व्यवस्थापनको लागि प्रदेश र संघीय सरकार सँग पहल जारी रहेको उपाध्यक्ष साउँदको भनाइ छ।