कैलालीमा सञ्चारकर्मीमाथि आक्रमण घटनाः ‘तीन जनाको समूहबाट संघातिक एवम् सुनियोजित हत्याको प्रयास’
2020/05/30, 4:42
 
tikapur

कैलालीको एक रेडियोमा कार्यरत सञ्चारकर्मीलाई आक्रमण भएको छ । टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत विफा चौधरीमाथि गए राति अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलील गए राती उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चौधरीलाई उनकै कोठाबाट हात बाँधेको अवस्थामा उद्धार गरिएको बताउँदै घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए । उपचारपछि चौधरीलाई आमाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । यता कैलालीको टीकापुरबाट प्रशारण हुँदै आएको रेडियो नमस्तेकी सहकर्मी एवं प्राविधिक पत्रकार विफा चौधरीमाथि गए राति अज्ञात समूहबाट भएको संघातिक एंव सुनियोजित हत्या प्रयास भएको भन्दै सो घटनाप्रति फोनिज कैलालीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फोनिज कैलालीको साधारण सदस्य समेत रहेकी २२ वर्षीया चौधरी टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं.–१६ मा डेरामा बस्दै आएकी उनलाई गए राति करिव ९ बजे तीन जनाको समूहमा आएको अज्ञात समूहले हत्या प्रयास गरेको फोनिज कैलालीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । जिल्ला अध्यक्ष लखन चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘कोठामा बंत्ती वालेर शौचालय गएकी चौधरीले कोठामा पुग्दा बत्ती निभाएको अवस्थामा कोठाभित्र पस्दा मुखमा कालो रंगको मास्क लगाएका तीन जनाको समूहले नियन्त्रणमा लिएको बुझिएको छ । करिव २०÷२५ मिटरको दुरीमा रहेको छिमेकी डेराकी साथीसँग गफगाफ गरेर सुत्न कोठामा पुगेकी उनलाई उनकै कोठाभित्र अज्ञात समूहले नियन्त्रणमा लिइ हत्या प्रयास गरेको प्रहरीलाई प्रारम्भिक वयानमा बताएकी छिन् । उनी डेरामा एक्लै वस्दै आएकी छिन् भने स्वास्थ्यकर्मी घरधनी शुक्रवार राति क्वारेन्टाइनमा ड्युटीमा गएकी थिइन् ।’

फोनिज कैलालीका अनुसार सोही मौका छोपी  दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिएको र अर्काले झुण्डयाउन दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने, जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मुख थुनेर मार्न खोजेको पीडित चौधरीले बताएकी छिन् । घटनाको खबर पाउने वित्तिकै पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाईएको रक्ताम्मे अवस्थामा फेला पारेकोे घटनाप्रति फोनिज कैलालीले स्तब्ध भएको बताएको छ । चौधरीमाथि सुनियोजित रुपमा हत्या प्रयास गरिएको सो घटनाले सिंगो प्रेस जगतमाथि नै प्रहार भएको ठहर गर्दै फोनिज कैलालीले घटनाको निन्दा र भत्सर्ना गर्दै दोषी उपर छानविन गरी कडा कारवाहीको माग गरिएको छ । 

k