कञ्चनपुर सीमाक्षेत्रमा कसले चलायो गोली ? घाइते नरेशको यस्तो बयान
2021/01/05, 12:03
 
sima

सोमबार साँझ साढे ६ बजेतिर कञ्चनपुर दोधारा चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रमा गोली चल्यो। भारतको उत्तराखण्ड राज्य अन्तर्गत चम्पावत जिल्लाको गडिगोठ जंगलमा गोलीको छर्रा लागेर कञ्चनपुर दोधारा, चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेश सुनार घाइते भए।

सुनारको दायाँ खुट्टामा छर्रा लागेको प्रहरीले जनाएको छ। उनको महाकाली अस्पतालमा उपचार हुँदैछ। सुनारको अवस्था सामान्य छ। सुनारमाथि कसले र किन गोली चलायो भन्ने अहिलेसम्म खुलेको छैन। खटिएका सीमाक्षेत्रमा भारतीय एसएसबी अथवा वनरक्षकले  गोली चलाएको अनुमान गरिएको छ। 

साँझ साढे छ बजे गोली चलेको भएपनि साढे ८ बजेपछि मात्रै आफूहरुले खबर पाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो बताउँछन्।  ‘भारतीय भूमिमा गोली चलेको हुनाले हामीलाई ढिलो खबर आयो ।’ प्रजिअ महतोले भने, ‘हामीले एसएसबीसँग बुझ्दा घटना हामी भएको हैन जानकारी पनि छैन भन्ने नभएको जवाफ आएको छ।’ उनले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको महतोले जानकारी दिए। 

घाइते सुनारले आफू किनमेलका लागि भारतीय बजार गएको प्रहरीलाई बयान दिएका छन्। स्थानीयका अनुसार सो क्षेत्रमा काठ तस्करी हुने गरेको छ। सो क्षेत्रमा काठ तस्कर हुने गरेको भन्दै पहिलेदेखि भारतीय पक्षले पनि गुनासो गर्दै आएको। प्रजिअ महतोले बताए। 

काठ तस्करीकै सिलसिलामा भारतीय वनरक्षकबाट गोली चलेको हुनसक्ने अनुमान गरिएको छ।   घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। 

भारतीय एसएसबीले अस्वीकार गर्‍यो

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि गोली चलाउने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। सशस्त्र प्रहरी बल (एपीएफ), शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबीले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको जानकारी नेपाल पक्षलाई दिएको छ।   एसएसबीले भनेका कुरा सुनाउँदै ऐरले भने, ‘सीमाक्षेत्रमा तैनाथ कुनैपनि युनिटबाट गोली चलाउने कार्य भएका छैनन् भनेर जवाफ आएको छ ।’

‘गठीगोठको भारतीय वनक्षेत्रमा पटक–पटक तस्करहरूले रुखहरू कटान गर्दै आएका थिए’ प्रहरी उपरीक्षक ऐरले भने, ‘भारतीय वनरक्षकहरूले चलाएको बन्दुकको छर्रा सुनारलाई लागेको अनुमान गरेका छौं ।’ घटनाबारे विस्तृत रूपमा बुझ्ने काम भइरहेको र सीमाक्षेत्रमा रहेको भारतीय वन विभागको कार्यालयसँग समेत सम्पर्क गरिरहेको उनले जानकारी दिए।  घटना यसरी नै भएको हो भन्नेबारे अहिले नै यकीन गर्न नसकिने  ऐरले 

घाइते सुनार भन्छन्,‘सामान किनेर फर्किँदै थिएँ’

घरका लागि दाल, चामल, चिनी ल्याउँदै थिएँ। गडिगोठ जंगलमा रुख काटिएको थियो। बब्लु भन्ने मान्छे मेरो अगाडि–अगाडि हिँडिरहेको थियो। म पछाडि थिएँ। एक जनाले मलाई  डण्डाले हान्यो म लडेँ। अनि उठेर हिड्न खोज्दा पटाका पड्किएको जस्तो आवाज आयो। 

म भागेँ मेरो खुट्टामा लागेको रहेछ। म भागेर पूर्णागिरी स्कुलसम्म पुगेँ।  त्यहीबेला अंकलको फोन आयो। मैले घटनाको जानकारी अंकललाई दिएँ। अनि अंकल आउनुभयो। उनीहरु १०/१२ जनाको समूहमा थिए। ती एसएसबी हुन कि को हुन मैले चिन्न सकिँन।