डि.आर. पन्त- नेपाल एकीकरणका गाथा, डोटी राज्यका विभिन्न महत्त्वपूर्ण घटनाक्रम, सात सालको जनक्रान्तिका घटनाहरू जीवन्त थिए, उनको हुड्केलीमा । प्राचीन समाजका विविध स्वरूपका विषयमा पनि उनको हुड्केली लोकप्रिय थियो । लाली दमाईले पछिल्लो पटक ८७ वर्षको उमेरमा डडेलधुरामा लगातार दुई घण्टासम्म नाच्दै हुड्केली गाएका थिए । प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम नै उनको जीवनको अन्तिम प्रस्तुति थियो । हुड्केलीबाट सुदूर समाजमा अमिट छाप बनाएका उनै लाली ९० वर्षको उमेरमा अस्ताए ।
डडेलधुराको अजयमेरु गाउँपालिका, समैजीको पाली गाउँका बासिन्दा हुन् लाली । निधनका बेला पनि उनले जीवनभर गाएको हुड्केली छेउमै थियो । सिरानी नजिक राखिएको हुड्केलीलाई उनले अन्तिम पटक हातले छामे अनि छोरा–नातिलाई अर्ती दिँदै भने, ‘तिमीहरू सबैलाई हुर्काउने यही हुड्के हो, यसलाइ नबिर्सनू ।’ लालीले आफ्ना बुबा अमरसिंह दमाईबाट पुस्तैनी नासोका रूपमा हुड्केली गाउने कला सिकेका थिए । ‘एउटा जीवन्त इतिहासको अन्त्य भएको छ ।’
उनका गाउँले डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले भने, ‘सयौं वर्षअघिको इतिहास मुखाग्र भएका लाली दमाई आफैंमा पनि सुदूर संस्कृतिको जीवन्त इतिहास थिए ।’ उनले हुड्केली नगाएका सुदूरका कुनै जिल्ला बांँकी थिएनन् । ‘ठूलठूला राष्ट्रिय सांस्कृतिक कार्यक्रमदेखि गाउँघरमा हुने सामान्य कार्यक्रममा पनि लाली हुड्केली गाउन टुप्लुक्क आइपुग्थे ।’ अध्यक्ष भट्टले भने– ‘सुदूर संस्कृतिको एउटा महत्त्वपूर्ण विधा हुड्केलीका नायकको निधनले एउटा इतिहासको अन्त्य भएको छ ।’
लालीले हुड्केली गाउन सुरु गरेपछि सबै मन्त्रमुग्ध भएर सुन्थे । उनी घण्टौं नाचेर हुड्केली गाउँथे । ‘हुड्केलीमा डुबेपछि लाली दमाईलाई समय बितेको पत्तै हुन्थेन ।’ उनीबाट हुड्केली सिकेका भागेश्वरका नवल दमाईले भने– ‘लोकबाजा हुड्केली मात्र नभई सुदूरका धेरै लोकबाजाका गुरु अस्ताएका छन् ।’ १० छोरा दुई छोरीका पिता लालीले हुड्केली गाएरै सन्तान हुर्काए । डडेलधुरा, बैतडी र डोटीमाा यस्ता कुनै गाउँ र जात्रा छैनन् जहाँ उनले हुड्केली नगाएका हुन् ।
लालीबाट हुड्केली सिक्नेहरूको सूची पनि लामै छ । नवल भन्छन्, ‘नयाँ पुस्ताले सिकेन, आफ्नै समकालीन धेरैलाई उनले हुड्केली सिकाए ।’ हुड्केली सुदूरमा गाइने सांस्कृतिक लोक–काव्य हो । दमाई समुदायमा पुस्तान्तरण हुँदै आएको हुड्केली डमरु जस्तो बाजा बजाउँदै गाउने परम्परा छ । सुरुसुरुमा राजा–रजौटाले आफ्नो वंश–परम्पराको इतिहास राख्न सुरु गरेको हुड्केली कालान्तरमा लोककाव्यमा परिणत भएको हो ।
बाइसे–चौबीसे राजाहरूका समयमा हुड्केली गाइएको इतिहास भेटिए पनि त्यसभन्दा धेरै अघिदेखि नै सुरु भएको मानिन्छ । हुड्केलीका गीत र गाथाहरूमा १२ सय वर्षभन्दा पुराना इतिहासको वर्णन भेटिएको छ । लाली दमाईले थुप्रै पटक राष्ट्रिय प्रतिभा पुरस्कार मात्र पाएनन्, भारत, उत्तराखण्डको कुमाउँ विश्वविद्यालयका प्राध्यापक अनिरुद्रप्रसाद नौटियालले ‘लाली दमाई और हुड्केली’ वृत्तचित्र नै बनाएका थिए । १२ वर्षमा हुने भागेश्वर जात्रामा आएका नौटियालले उनको हुड्केली सुनेपछि सो वृत्तचित्र बनाएका हुन् ।