कोरोना भाईरसका कारण लकडाउनमा परेर भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक हजारौं नेपाली श्रमिकहरु नेपाल फर्किरहेका छन् । गत जेष्ठ २ गतेदेखि नेपाली श्रमिकहरुका लागि कैलालीको त्रिनगर भन्सार नाका खुला गरेपछि नेपालीहरु आउने क्रम बढेको हो । जेष्ठ दुई गतेदेखि हालसम्म त्रिनगर भन्सार नाका भएर साढे ३७ हजार नेपालीहरु भित्रिएका छन् । जसमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका साथै देशका विभिन्न जिल्लाका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार यसरी भित्रिनेहरुमा सुरुको दिनमा आएका केहीको सिमामा ¥यापिड टेष्ट गरिएपनि त्यसपछिदेखि आजसम्म आएकाहरुलाई सामान्य ज्वरो नापेर मात्रै सम्बन्धित जिल्लामा पठाईने गरिएको छ । नेपाल भारत सिमाका यात्रुको सेवाको लागि सिमा क्षेत्र डोकेबजारमा निःशुल्क “खाना पानी अभियान“ संगै “निशुल्क आकस्मिक फोन सेवा“ लाई निरन्तर सञ्चालन गरिरहेको रोयल कोल्याब्रेटिभ्सले जनाएको छ । अभियान अन्तर्गतको नवौं दिनमा दुई हजार दुई सय जनालाई खाना खुवाईएको छ ।
नवौं दिन दुई हजार खानाका लागि सेती महाकाली टूर्स एण्ड ट्राभल्सका अध्यक्ष ईन्द्र विनाडीले सहयोग उपलब्ध गराएका थिए । निसर्ग अस्पतालको मुख्य सहयोग तथा धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोगका रोयल कोल्याब्रेटिभ्सले खाना खुवाउने अभियान जारी राखेको छ । भारतबाट आएका नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत आज दिनभरीमा १ हजार ५ सय जनालाई खाना खुवाईएको छ ।
यस्तै समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका १ हजार २ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो । पेनिक हिलिङ धनगढीका तर्फबाट ३ सय जनालाई , बिरेन्द्र गुप्ता तथा बिन्नि गुप्ताका तर्फबाट ४ सय जनालाई, ईण्डोनेशियाबाट ईञ्जिनियर टंक पन्तका तर्फबाट ३ सय जनालाई खाना र पानी वितरण गरिएको थियो । त्यस्तै त्रिनगर बहुमुखी क्याम्पस, नवदुर्गा माध्यामिक विद्यालय, कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ३ सय जनालाई खाना वितरण गरिएको थियो ।
भारतबाट आएका नेपालीहरुलाई १ सय ४० कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । मारवाडी युवा मञ्चका अध्यक्ष गौरव अग्रवालले ९१ कार्टुन मिनरल वाटर उपलब्ध गराएका थिए । अभियानका अगुवा तायलले नेपालीहरु भारतबाट आउने क्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए । भारतबाट आउने नेपालीहरु खाना र पानी खान नपाएर छटपटिएको देखेपछि शुरुवाती दिनदेखि नै यो अभियान अन्तर्गत खाना र पानी वितरण गरिदै आएको छ ।
चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मान सिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको सहभागितामा भारतबाट आएका नेपालीहरुका लागि खाना र पानी अभियान शुरु गरिएको हो । पत्रकार दीर्घराज उपाध्यायले अभियानको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । अभियानमा राउण्ड टेबल नेपाल, हाम्रो सानो प्रयास अभियान, काठमाण्डौं, मारवाडी युवा मञ्च, एलायन्स फर पीस लगायतका संघ संस्थाले साथ दिएका छन् ।
यस्तै पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी रहेका वेला सीमा नाकामा उनीहरुलाई विभिन्न सहयोग हुदै आएको छ । कैलालीको गौरीफन्टा नाका भएर आईरहेका नेपालीहरुलाई त्रिनगर सीमा नाकामा निशुल्क रिचार्ज, फोन र चार्जको सुविधा दिईएको छ । बोलन्या थली र दृष्टि फाउण्डेसनले भारतबाट आएकाहरुलाई यो सुविधा दिएका हुन् । भारतबाट आएकाहरुलाई प्रति व्यक्ती २० रुपैया रिचार्ज गरिएको हो । तीन सय जनालाई रिचार्ज, ६० जनालाई पिसिओ सेवा र एक सय ५० जनालाई चार्जको सुविधा दिईएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।