सुदूरपश्चिमबाट भएका मन्त्रीलाई कतै फुलमाला सहित स्वागत, कतै कालोझन्डा सहित विरोध
2021/01/10, 11:14
 
matri

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलो पटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे । धनगढी विमानमा उत्रेर सँगै आफ्ना समर्थकबाट फूलमालाले स्वागत पाएका मन्त्री आले गृह जिल्ला प्रस्थान गर्दा कैलालीबाटै केही समर्थक र कार्यकर्ता पनि लिएर गए । जिल्ला सदरमुकाम सिलगढीमा नेकपा ओली समूहले आयोजना गरेको सभामा सहभागी भएका भएका उनीसँगै धनगढी र गृहनगर बुडरबाट पनि समर्थक र कार्यकर्ता गएका थिए । 

सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो । तीमध्ये आधा दर्जनभन्दा बढी गाडी दिपायल–सिलगढीभन्दा बाहिरबाट उनका समर्थक र कार्यकर्ता लिएर आएका थिए । सिलगढीमा तामझामका साथ गरिएको सभामा मन्त्री आलेले डोटीमा सडक, खानेपानीलगायत विकासका विभिन्न योजना अगाडि बढाउने आश्वासन दिए । ‘प्रधानमन्त्रीले एउटा मगरको छोरालाई विश्वास गरेर जिम्मेवारी दिनुभएको छ । म यो मन्त्रालयलाई अहिलेसम्मकै उत्कृष्ट मन्त्रालय बनाएर देखाउनेछु । तपाईं जनताको शिर निहुरिन नदिने गरी काम गर्नेछु ।’ सभामा मन्त्री आलेले भनेका थिए ‘यो जिल्लामा हुने विकास–निर्माणका काममा म जहिले पनि तत्पर रहनेछु ।’ 

नेकपा विभाजनसँगै आफ्नो समूहको प्रदेशस्तरीय भेला र छलफलका लागि केही दिनदेखि धनगढीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट गत बिहीबार विद्यालय भवन शिलान्यासका लागि कञ्चनपुरको वेदकोट पुगे । आफ्नो समूह निकट केही विघटित प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिम प्रदेश सभा सदस्य लिएर तामझामका साथ पुगेका मन्त्री भट्टले वेदकोट नगरपालिका–८, स्थित बैजनाथ माविको भवन शिलान्यास गरे ।

उनीसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी केही दिन धनगढीमै छन । यहाँ रहँदा ठगुन्ना मन्त्रालय मातहतको एक कार्यालय उद्घाटन र चौधरी निर्वाचन क्षेत्रअन्तर्गत भजनी नगरपालिकामा कार्यक्रममा सहभागी भए । मन्त्री सहभागी भएका पार्टी र अन्य कार्यक्रममा निकै तामझाम देखिन्थ्यो । मन्त्रीको स्वागतमा विमानस्थलमा पनि उस्तै तामझाम देखिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृह जिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् । उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो ।

गृहक्षेत्रमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना पनि स्वागत थापिरहेका छन । उनले धनगढीमा स्थापना भएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको बिहीबार उद्घाटन गरेका छन । उनले पनि प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै मुलुकमा राजनीतिक परिवर्तन भई संघीयता समेत आइसकेकाले अब सम्पूर्ण राजनीतिक दलसहित सबैको साझा अभियान मुलुकको विकास हुनुपर्ने बताए ।