महाकाली अस्पतालमा ६ महिनादेखि पीसीआर मेसिन थन्कियो
2021/01/10, 11:27
 
pcr

कोरोना संक्रमण परीक्षणका लागि भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गरेको ६ महिना पुग्यो । महाकाली अस्पताललाई हस्तान्तरण गरेको पनि ३ महिना भयो । तर, हालसम्म पनि सञ्चालनमा आउन नसकेर अस्पतालको बरान्डामै थन्किएको छ । 

जेठमै निर्णय गरी असार अन्तिममा नगरपालिकाले ३८ लाख रुपैयाँ लागतमा पीसीआर मेसिन र पीसीआर क्याबिनेट खरिद गरेको थियो । तत्कालै परीक्षण थाल्ने बताइए पनि हालसम्म मेसिन सञ्चालनमा ल्याइएको छैन ।  ‘हामीले मेसिन खरिद गरेर अस्पताललाई बुझाएका हौं, जिल्लाका सबै स्थानीय तह र प्रदेश सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको हो,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘तर अहिलेसम्म पनि परीक्षण सुरु हुन सकेन, मेसिन अस्पतालमै थन्किएको छ ।’

उनका अनुसार भीमदत्तले मेसिन किन्ने र अन्य स्थानीय तहले प्रयोगशाला सञ्चालन तथा बाँकी उपकरण किन्ने योजना थियो ।  महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार प्रयोगशाला सञ्चालन गर्न जिल्ला समन्वय समितिको समन्वयमा सबै स्थानीय तहले १० देखि १५ लाखसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पटक–पटकको छलफलमा सबै तहका प्रमुखले कार्यपालिका बैठकबाट निर्णय गरी रकम निकासा गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कसैले सहयोग नगरेको उनले बताए ।  प्रयोगशालाका लागि आवश्यक फ्रिजलगायत उपकरण पनि अस्पतालले नै खरिद गरेको छ । अझै पनि परीक्षण किटलगायत सामग्री किन्न बाँकी छ । ५३ लाख रुपैयाँमा किनिएका सबै उपकरण भने आइनसकेको उनले बताए ।

‘अब एकरदुई हप्तामा पीसीआर ल्याब सञ्चालनमा आउॅछ,’ उनले भने, ‘कर्मचारी भर्नादेखि ल्याबको तयारी सबै पूरा गरिसकेका छौं ।’  महाकाली अस्पतालले अहिले पनि दिनमा ३०र४० जनाको स्वाब संकलन गरिरहेको छ । परीक्षणका लागि धनगढी नै पठाउनुपर्ने र रिपोर्ट पाउन दुईरतीन दिन कुर्नुपर्ने बाध्यता कायमै छ ।

महाकाली अस्पतालमै पीसीआर प्रयोगशाला सञ्चालनमा आए परीक्षणको दायरा बढाएर जोखीम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा हालसम्म १ हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २ सय १५ छ ।