ओलीको अर्को कदम : कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने, नभए प्रदेश विघटन
2021/01/10, 2:24
 
kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन तयारी गरिरहेको सरकारकै एक मन्त्रीले खुलासा गरेका छन् । सुदूरपश्चिमबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने एक मन्त्रीले यस्तो खुलासा गरेका हुन् ।

‘आफ्नो बहुमत नरहेको प्रदेशमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका साना दलहरूसँग मिलेर सरकार बनाउने तयारी छ,’ ती मन्त्रीले भने, ‘त्यो सम्भव नदेखिए प्रदेशसभा पनि विघटन  गर्ने तयारी छ । प्रधानमन्त्रीज्यूले पनि सोही संकेत दिनुभएको छ ।’

ती मन्त्रीकाअनुसार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टविरुध्द पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी भइरहेको छ । २४ पुसमा प्रधानमन्त्रीको धनगढी यात्राका क्रममा मुख्यमन्त्री स्वागतमा उपस्थित भएनन् । ‘कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि नयाँ सरकार बनाउँछौ’ मन्त्रीले भने ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जसपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । ३९ नेकपाका प्रदेश सासंदमध्ये ७ जना ओली समूहमा खुलेका छन् । त्यसमा दुई पूर्वमन्त्री पनि छन् ।

चुनावी तयारीको झल्को दिने देश दौडाहको सुरुवात सुदूरपश्चिमबाट गरेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा यहाँबाट चार जनालाई मन्त्री बनाएका छन् ।