बाढी पीडितहरुलाई उद्योगमन्त्री लेखराज भट्टद्वारा खाद्यान्न सहयोग  
2021/01/10, 6:59
 
rahat

कैलाली (चुरे)(चुरे गाउँपालिकाका बाढी पीडितहरुलाई उद्योग वाणिज्इ तथा आपुर्ति मन्त्री लेखराज भट्टले खाद्यान्न र जाडोको लुगा वितरण गरेका छन् । बाढीबाट विस्थापित भएकाहरु बसिरहेको चुरे गाउँपालिका वडा नम्बर ४ कैनेरु गणामा पुगेर सो सामाग्री वितरण गरिएको हो । मन्त्री भट्टका तर्फबाट उनकी धर्मपत्नी एवम् नेकपाकी केन्द्रिय सदस्य निर्मला भट्ट सामाग्री लगेर त्यँहा पुगेकी थिईन् । 

उनीहरुलाई चामल एक सय ३७ बोरा, चिनी २ क्विन्टल, नुन २ सय पाकेट, दाल २५ क्विन्टल र जाडोको बल्याङकेट १ सय ८० वटा उपलब्ध गराईएको नेकापा चुरेका नेता किसन साउँदले बताए । उनका अनुसार बाढी पीडितहरुको समस्या बुझेर तत्कालको लागी राहत स्वरुप उक्त सामाग्री दिइएको भएपनि छिट्टै नै स्थायी बसोबासको योजनाको लागि मन्त्री भट्टले पहल गरिरहेका छन् । 

बाढी पिडित संघर्ष समितिका अध्यक्ष टिकाराम कार्कीले अहिलेसम्म कतैबाट पनि खासै राहत नपाएको गुनासो गरे । ‘६ महिना भयो हामीले बाढीको कारण घरबार गुमाएको तर सरकारको जिम्मेवार निकायको अहिलेसम्म उपस्थिति भएको थिएन ।’ कार्कीले भने– ‘मन्त्री लेखराज भट्टको  तर्फबाट जुन सहयोग आएको छ यसले हामीलाई राहत मिलेको छ ।’ गत साउनमा आएको बढीले कैलालीको चुरे गाउँपालिका ४, ५ र ६ का झन्डै १६८ परिवार पूर्ण रुपमा बिस्थापित भएका थिए ।

उनीहरु लामी समय भिमदत्त राजमार्गमा टेन्ट हालेर बसेका थिए । तरपछि उनीहरु गौरीगंगा नगरपालिकामा आएर बसेका थिए । त्यँहा पनि नगरपालिकाले बस्न नदिएपछि जिल्ला प्रसाशन कार्यालय कैलालीको समन्वयमा बैठक बसेर चुरे ४ मा रहेको कैनेरुमा अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो ।