सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका लागि हानथाप
2021/01/14, 9:40
 
rajdhani

सत्तारुढ नेकपा दुई कित्तामा विभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा बहुमतमा रहेको दाहाल –नेपाल खेमामा मन्त्रीका लागि हानथाप भइरहेको छ । ओली समूहका दुई जना मन्त्री सरकारबाट बाहिरिए सँगै कसलाई मन्त्री बनाउने भन्ने विषयमा दाहाल समूहमा कुरा मिलेको छैन । मन्त्री पद नपाए ओली समूहमा जाने केही सांसदको चेतावनीका कारण मन्त्री परिषद् बिस्तारमा ढिलाइ हुने देखिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाका ३९ सांसद छन् । तीमध्ये अहिलेसम्म ७ जना ओली समूहमा खुलेरै लागेका छन् भने बाँकी दाहाल पक्षमै छन् । ओली समूहमा रहेका दुई जना मन्त्री हटेपछि दाहाल नेपाल समूह मन्त्री परिषद् बिस्तारको तयारीमा छ । तर, कसलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो नलाग्दा ढिलाइ भइरहेको छ । केही सांसदले मन्त्री पद नपाए समूह परिवर्तन गर्ने चेतावनी दिएपछि दाहाल समूहलाई सङ्कट छ । रिक्त दुई मन्त्री र केही राज्य मन्त्री थपेर सांसदलाई मनाउने यो समूहको प्रयास छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाह मन्त्री नियुक्तिका लागी सरकार भित्र गृहकार्य भइरहेको बताउँछन् । योग्य र सक्षम व्यक्तिलाई मन्त्री  बिनाइने उनको भनाइ छ । 

दाहाल समूहमा रहेका तारा लामा तामाङ, दीर्घ सोडारी, अक्कल रावल, पूर्णा जोशी,वीर मान चौधरी लगायतले मन्त्री दाबी गर्दै आएका छन् । उनीहरूले बहालवाला केही मन्त्रीहरूलाई पनि फेरबदल गर्नुपर्ने अडान पार्टीमा राखेको बुझिएको छ । यता, ओली समूह मन्त्रीकै लागिहुने असन्तुष्टिको फाइदा लिने दाउमा छ । उसले सांसद रिझाउने प्रयास जारी राखेको छ । केही पदको लोभमा र केही आधिकारिता पर्खेर बसेको यो पक्षको ओली पक्षीय सांसद महेशदत्त जोशी बताउँछन् । पद पाउने लोभले केही साथीहरू पर्खिनुभएको छ उनले भने मन्त्रीमण्डल बने लगत्तै अवस्था परिवर्तन हुन्छ । 

सुदूरपश्चिममा बहुमतमा रहेको दाहाल–नेपाल समूहलाई बहुमत जोगाई राख्न मन्त्रीका आकांक्षकै कारण समस्या छ भने ओली समूह यसैलाई पर्खेर बसेको छ । १२ जना सांसद रहेको प्रतिपक्षी कांंग्रेस र २ सांसद जसपा भने प्रधानमन्त्रीको कदम विरुद्ध आन्दोलनमा छन्  । उनीहरुले अहिलेसम्म सरकार निर्माणका विषयमा धारणा बनाएका छैनन् ।