नयाँ दिल्लीमा नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठक चलिरहँदा कञ्चनपुरमा एसएसबीद्धारा बाटो अवरुद्ध
रोकिएन सीमा भारतीय दादागिरी 
2021/01/16, 9:18
 
sima

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको छैटौं बैठक चलिरहँदा कञ्चनपुरमा एसएसबीले भने बाटो अवरुद्ध पार्दैै आफ्नो दादागिरी रोकेको छैन् । नयाँदिल्लीमा भएको बैठकमा सीमा सम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिव स्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पु¥याउनुपर्ने विषय’ भन्दै पन्छाईरहँदा कञ्चनपुरको वेलौरी नगरपालिकामा भारतीय पक्षले बाटो अवरुद्ध पारेपछि तनाव सिर्जना भएको थियो । 

शुक्रबार बैठक लगत्तै नेपाली दूतावासद्वारा जारी विज्ञप्तीमा सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी खण्डलाई चाँडो निष्कर्षमा पु¥याउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको भन्दै विगतकै जस्तो भाषा उल्लेख गरिएको छ । तर यता सीमावर्ती क्षेत्रमा भारतीय दादागिरी कायमै रहेको हो । 

भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटमा बाटो अवरुद्ध गरेको थियो । सीमा स्तम्भ नम्बर ३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको थियो । नेपाली र भारतीय दुवै पक्षले प्रयोग गरिरहेको सीमाको सडकमा एसएसबीले हिँड्न नदिएपछि किसानले काटेको उखु मिलसम्म पुर्याउन समस्या भएको छ ।

अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १५० मिटर भारततिर पर्ने देखिएको छ ।

सोही क्षेत्रमा एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाई दिएका थिए । सोही विषयमा अनावश्यक ईगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए । उनले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिएपनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिए । ‘हामीले अस्थायी पोष्ट हटाएपछि एसएसबीले इगो साँध्न खोजेको देखियो’ भट्टले भने–‘अस्थायी पोष्ट हटाएपनि उनीहरु ट्रकमा आएर सोही ठाउँमा दिनभर बस्ने र साँझ फर्किने गरेका छन् ।’

उनले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो भएपनि नेपालतर्फ नभएका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको बताए । ‘अहिले भनिएको ‘नो मेन्सलेण्ड’ अन्तिम होईन, यो हिजोदेखि दुवै पक्षले प्रयोग गरि आएको बाटो हो’ भट्टले भने, ‘सोही रुपमा स्थानीय किसानहरुले कृषि कार्यको लागि प्रयोग गर्न पाउनु पर्छ भनेर सीमामा रहेका भारतीय सुरक्षा निकायसँग प्रष्टसँग सङ्ग कुरा राखिएको छ ।’

उनले भारतीय पक्षलाई वर्षौदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध नगर्न आग्रह गरिएको भन्दै सम्बन्धित नियकाले समस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने स्पष्ट पारेका छन् ।