सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण चैत ६ गते हुने
2021/01/17, 3:49
 
sports award

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण चैतको पहिलो साता हुने जानकारी दिएको हो । गत वर्ष पौष १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भएको भए पनि यस वर्ष कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा केही ढिलो गरी अवार्ड आयोजनाको तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

अवार्डको दोस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । ‘तयारी थालिसकेका छौ,  अवार्ड चैत्र ६ गते नै हुन्छ ।’ उनले भने– ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ ।’
२०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने जनाईएको छ । गत वर्ष हामीले ६ विधामा अवार्ड दिएका थियौ ।’ अध्यक्ष ओझाले भने, ‘यस वर्ष ३ विधा थपेका छौ ।’

3

उनका अनुसार पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।