डोटीमा १० प्रतिशतले मतदाता बढे
2021/01/21, 2:50
 
chunab

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।  निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखिनै फोटोसहितको मतदाता नामावली संकलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

डोटी जिल्लामा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासीले बताए । उनले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग एक चरणको छलफल भएको बताए ।  जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।  उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४.७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए ।

खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।  ‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘१५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको छ, त्यतिवेला केही घटन् सक्छन् ।’ महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका उनले जानकारी दिए  ।

उनले माघ १५ देखि २१ सम्म नौ वटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको बताए । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने मलासीले बताए ।