सुदूरपश्चिममा बहुमत जोगाउन जम्बो मन्त्रिपरिषद् बनाउने तयारी
2021/01/24, 11:46
 
sup sarkar

सुदूरपश्चिम प्रदेश सरकार बहुमत जोगाउनका लागि जम्बो मन्त्रिपरिषद् बनाउने तयारीमा लागेको छ । बहुमतमा रहेको नेकपाको दाहाल समुहले आफू पक्षीय सांसदलाई टिकाइ राख्न मन्त्री बनाउने रणनीति अख्तियार गरेको छ । जसका कारण रिक्त दुई मन्त्री मात्रै होइन धेरै जना थप्पे गृहकार्य भइरहेको छ ।

दाहाल पक्षको यस्तो रणनीतिले प्रदेशलाई आर्थिक भार बढ्ने भन्दै विपक्षी दलहरुले विरोध जनाएका छन् । प्रतिपक्षी दल नेपाली काग्रेंसको संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले सुदूरपश्चिमवासीको लागि नभई राज्यसत्ता दोहन गरेर सरकार बचाउने काममा भईरहेको आरोप लगाए । ‘प्रदेश सरकार प्रदेशवासीको पक्षमा कामभन्दा पनि राज्यको दोहन गरेर सरकार बचाउन तल्लीन छ ।’ डाक्टर रावलले भने–‘ओली समुह पनि राज्यलाई नै दोहन गरेर सरकार गिराउने र बनाउने खेलमा रहेको छ । यो एकदम गलत हो ।’

सुदूरपश्चिम प्रदेशमा दाहाल–नेपाल समुहको स्पष्ट बहुमत त छ तर मन्त्री पदका आकांक्षी धेरै भएपछि रिक्त मन्त्री थप्न सकस छ । सरकारमा रहेका सात मन्त्रीमध्ये एक जनालाई हटाईएको छ भने अर्का एकले राजिनामा दिएर ओली समुहलाई साथ दिएका छन् । त्यस अघि विवादमा मुछिएपछि बन राज्यमन्त्रीले राजीनामा गरेका थिए । अहिले ५ जना मात्रै मन्त्री छन् । आफू पक्षीय केही सांसद मन्त्री बन्न नपाए ओली समुहमा लाग्ने भय मुख्यमन्त्री त्रिलोचन भट्ट र दाहाल खेमामा छ । त्यसैले रिक्त मन्त्रालयमा मात्रै होईन मन्त्रालय नै फुटाएर मन्त्री परिषद् हेरफेरको तयारी भईरहेको छ ।

तर प्रदेश सरकारलाई गिराएर आफ्ना् समुहको सरकार बनाउने चलखेलमा रहेको ओली खेमाले पनि आपत्ति जनाएको छ । ‘मुख्यमन्त्री आफ्नो पद जोगाउन जे पनि गर्न तयार हुनुहुन्छ । त्यो नगर्दा राम्रो हो ।’ ओली निकटका प्रदेश सभा सदस्य नेपालु चौधरीले भने–‘जनयुद्ध गरेर आउनु भएका प्रचण्डले सबै आफ्नैलाई मात्र हेर्दा आज सडकमा आउनु भएको छ । उहाँको पनि यस्तै अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा पुग्नुहुनेछ मुख्यमन्त्री पनि ।’

संसद बिघटन अघिसम्म मुख्यमन्त्री त्रिलोचन भट्ट नेता लेखराज भट्ट निकट थिए । तर, पद गुम्ने खतरा देखेपछि भट्टलाई साथ नदिई उनी दाहाल खेमामै बसेका हुन् । अहिले पद जोगाउनकै लागि मन्त्री परिषद् जम्बो बनाउने रणनीतिमा छन् । तर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संविधानले दिएको अधिकारलाई कार्यान्वयन गरिरहेको दाबी गर्छन् । ‘हामीलाई संविधानले सरकार विस्तारको अधिकार दिएको छ । तीन बर्षसम्म लागु गरेको छैनौ ।’ मुख्यमन्त्री भट्टले भने–‘लागु गर्न पनि संविधानले बाध्यता पनि गरेको छैन । तर रोकेको पनि छैन । आवश्यकता अनुसार निर्णय गर्न सकिन्छ ।’

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ सांसद छन् । तीमध्ये अहिलेसम्म ७ जना मात्रै ओली समूहमा खुलेरै लागेका छन् । बााकी ३२ जना दाहाल पक्षमै छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि केहीलाई मन्त्री र केहीलाई संसदीय समितिको जिम्मेवारी दिएर थामथुमको प्रयासमा दाहाल समुह छ ।