गोली हानेर छोरीको हत्या गरेर फरार बुवाले राति आएर घरमा आगो लगाए
हतियारसहित भागेकाको खोजी कार्य जारी
2021/02/07, 10:43
 
gun

बैतडीमा गोली हानेर छोरीको हत्या गरि फरार रहेका बुवाले राति आएर फेरि आफ्नै घरमा आगजनी गरेका छन्।

पुर्चौडी नगरपालिका १० महरागाउँका धनसिंह धामी शनिबार साँझ आफ्नै छोरीमाथि गोली प्रहार गरेर फरार भएका थिए।

उनले राति आएर फेरि घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। घरमा आगजनीपछि पनि उनी फरार रहेका छन्।

शनिबार आफ्नै २० वर्षीया छोरी बेलमती महरा धामीमाथि गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेका थिए।

हतियारसहित भागेका उनी राति आएर आफ्नै पुरानो घरमा आगजनी समेत गरेको प्रहरीले जानकारी दिएको हो।

घटनास्थलमा प्रहरीको टोली पुगेको भए पनि महरालाई फेला पार्न सकेको छैन।

जंगलतिर हतियारसहित भागेका महराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नै छोरीमाथि किन गोली प्रहार गरे भन्ने विषयमा अझै खुलेको छैन।