प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजिनामा दिनुपर्छः भीम रावल
2021/02/24, 10:46
 
rawal

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको प्रधानमन्त्री पदमा रहने सबै आधार समाप्त भएको तर्क गरेका हुन् । 

सर्वोच्चको फैसलाले प्रतिनिधि सभा विघटन असंवैधानिक र स्वेच्छाचारी भएको प्रमाणित गरेको उनले उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई समेत दिएका छन् । 

‘‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ ।’’ नेता रावलले भने– ‘‘उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन् । तुरून्त राजीनामा गर्नुपर्छ । प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद  र बधाई !’’