सेतीको आईसोलेसन कोरोनाका विरामीले भरिभराउ, थप संक्रमितलाई राख्न वेड नै छैन
2020/06/02, 11:31
 
korona

कैलालीमा कोरोना संक्रमितलाई राख्न आईसोलेसन शैयाको अभाव भएको छ । मंगलबार मात्रै जिल्लाका १० जनामा कोरोना पुष्टि भएपछि संक्रमितलाई राख्न आईसोलेसन वार्डमा वेड अभाव भएको हो ।

सेती प्रादेशिक अस्पतालसंग २४ शैयाको मात्रै आईसोलेसन वार्ड रहेकामा विरामीको संख्या २५ पुगेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । तत्काल नयाँ संक्रमितलाई व्यवस्थापन गर्न सकिने अवस्था नरहेको मेसु पाण्डेयले बताए । 

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का संक्रमितलाई आईसोलेसनमा राखिए पनि अन्य संक्रमितलाई भने तत्काल व्यवस्थापन गर्न समस्या भएको छ । उता गौरीगंगा नगरपालिकाका मेयर भीमवहादुर देउवाले नयाँ संक्रमितमा कोरोनाको लक्षण समेत देखिएकाले सेती अस्पतालमै पठाउनुपर्ने बताए । यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने संक्रमित विरामीको जिल्लाहरुले नै व्यवस्थापन गर्नुपर्ने बताए । 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालवहादुर धामीले टीकापुरका चार जना संक्रमितको टीकापुरमै व्यवस्थापन भएको बताउँदै धनगढीका एक जना संक्रमित र गौरीगंगाका ५ जना संक्रमितलाई सेती अस्पतालमै पठाउने तयारी भएको बताए । स्वास्थ्य कार्यालयले सेती अस्पताललाई ५० शैयाको कोरोना अस्पताल हस्तान्तरण गरेपछि उपकरण जडान बाँकी हुँदा अहिले सम्म सञ्चालन हुन सकेको छैन् ।