सेती अस्पतालमा कैलालीका कोरोना संक्रमितलाई भर्ना गरिएन्, उपचारका लागि पुगेका ५ जना फिर्ता 
2020/06/03, 7:28
 
korona

सेती अस्पतालमा कैलालीका कोरोना संक्रमितलाई भर्ना नगरेर फिर्ता पठाएको छ । आईसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।

२४ शैयाको आईसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएपछि सेती प्रादेशिक अस्पतालले कैलालीको गौरीगंगाका पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो ।

गौरीगंगा नगरपालिकाको मालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषलाई उपचारका लागि सेती पठाईएकोमा अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले बताए । ५ जना नयाँ संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समेत समस्या देखिएकोले सेती पठाएको तर भर्ना नभएपछि वडा नम्बर ४ को मन्दिरमा राखिएको मेयर देउवाले जानकारी दिए ।

थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएकाले विरामीहरुलाई फिर्ता पठाएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । २४ शैयाको आईसोलेसनमा २५ जना संक्रमितलाई राखिएकोले थप विरामी राख्न सक्ने स्थिति नरहेकोले पुगेकाहरुलाई पनि फिर्ता गरिएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जानकारी दिए । 

स्वास्थ्य कार्यालय कैलालीले हस्तान्तरण गरेको आईसोलेसन भवनमा उपकरण थप्ने काम जारी भएको भन्दै सो वार्डमा  विरामी राख्न अवस्था भएको छैन । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का एक जना संक्रमित र पुर्नवास नगरपालिकाका एक जना संक्रमितलाई भने सेती प्रादेशिक अस्पतालले आईसोलेसनमा भर्ना गरिसकिएको छ ।