डडेल्धुराका दिल दमाई २२ दिनदेखी अस्पतालको शैयामा
2021/04/06, 4:46
 
dil

डडेल्धुराको गन्यापधुरा २ का दिल दमाई २२ दिन देखि सेती प्रादेशिक अस्पतालको १९ नम्बर सैयामा उपचारको पर्खाईमा रहेका छन् । डेढ बर्ष अघि आफ्ना छोराछोरीसहित परिवारको भविष्य सुन्दर बनाउने सपना बुनेर पुगेका थिए उनी मुम्बई । तर, त्यहि सपनाको शहर मुम्बई उनको लागि जीवनमरणको दशा बन्यो । मुम्बई पुगेको चार दिनमै उनी भयानक दुर्घटनामा परे । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंदा उनको जीवन त जोगियो । तर, दुवै खुट्टा जोगाउन सकेनन् ।

गाडीको ठक्करले उनको खुट्टा क¥याक्ककुरुक्कमात्रै भएन, उनको सपना पनि चकनाचुर भयो । उनलाई भारतमा रहेका नेपालीहरुले सहयोग गरे । अस्पताल पु¥याए । त्यतै उनको करिब छ सात महिनासम्म उपचार पनि भयो । तर, खुट्टा राम्रो भएन । उनी हिड्न सक्ने गरी उनको खुट्टा निको भएन । केही महिना अगाडि सद्दे अवस्थामा घरबाट विदाई लिएर भारततिर गएका दिलबहादुर अपाङ्ता भएर घर फर्के । गरिबीको कारण जोहोका लागि काम गर्न भारत गएका उनी परिवारका लागि उल्टै आर्थिक भार बनेका छन् ।

गरिबीका कारण उनको परिवारले उपचार गराउन सकिरहेका छैनन् । आर्थिक अभावका कारण करिब एक वर्षदेखि नै घरको गोठमा छटपटाइ रहेका उनी जीवन मरणको दोसाँधमा छन् । उनको एक खुट्टाको मासु निकालिएको छ । र, अर्को खुट्टामा रड हालिएको छ । राम्रोसंग उपचार र स्याहारसुसार नभएका कारण उनका खुट्टाका घाउ पाक्न थालेका छन् ।  आफन्त र स्थानीयसंग ऋण सापटी माँगेर भाईको उपचार गराउँदा गराउँदै १५ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ ।

प्रदेश सरकार संग केहि आर्थिक सहयोगको अपेक्षा गरेर धनगढी  पुगे । तर यहाँ प्रदेश सरकारबाट कुनै सहयोग पाउन नसकेको दिलबहादुरका दाई गगनले बताए । प्रवासको पीडा प्रदेशका मुख्यमन्त्रीले पनि भोगेकाले सहयोगको आश लिएर धनगढी पुगेको भएपनि सोचेजस्तो भने हुन नसकेको जनाएको छ ।

चैत ३ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका दिल दमाई आर्थिक अभावकै कारण अस्पतालको  शैयामा छटपटाईरहेका छन् ।  सेती अस्पतालमा उनको उपचार सम्भव नहुने भएपनि आर्थिक अभाबले   काठमाडौ लैजान नसकेको  दिलका दाई गगन दमाईले बताए । खुट्टाको क्रयाक हड्डी नमिलेकोले त्यसका लागि डाक्टरको टिमले  काठमाडौ उपचार गर्न सुझाव दिएका थिए । ‘भाईलाई २२ दिन अस्पतालमा राखेको भईसक्यो । डाक्टर यता सम्भव छैन काठमाडौ वीर अस्पताल लैजानु भन्छन्,गगनले भने ’आफूसङ्ग पैसा छैन,कसरी काठमाडौ लग्नु।’ उनले रुदै भने ‘केहिले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको थियो । सहयोग गरेको रकम खान बस्न गर्दै खर्च भई सक्यो,सहयोगीहरुले आर्थिक सहयोग गरिदिए भाईको जीवन जिउन सहज हुन्थ्यो र सहयोग गरिदिन सबैमा नमन गर्दछु ।’

गर्मी बढेसङ्गै घाउ पाक्न थालेका छन् ।सरकारले निःशुल्क उपचारको व्यवस्था गरिदिए दिल दमाईले पुनर्जीवन पाउने परिवारले आश गरेका छन् । दमाईको  उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने  मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ वा  दिल बहादुर दमाईको बाणिज्य बैंकमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० मा आर्थिक सहयोग गर्न सकिनेछ ।