सहजपुर–बीपीनगर–बोगटान सडक निर्माण सुस्त
2021/04/13, 11:35
 
sadak

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष अघि शिलान्यास गरेको सहजपुर–बीपीनगर–बोगटान सडक निर्माण कार्य सुस्त छ । कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ४० किलोमिटर लामो यो सडक निर्माण अवधि सकिनै लाग्दा भौतिक प्रगति न्यून छ । 

जुन २०२१ मा सक्ने गरी ८ डिसेम्बर २०१८ मा पीआरएल कुमार जेभीसँग सम्झौता भएको थियो । तर रुख कटान आदेश नपाउँदा आयोजनाले गति लिन सकेन । आयोजना कार्यालयका अनुसार दुई अर्ब रुपैयाँ लागत रहेको यो सडक निर्माणका लागि सरकारले एक्जीम बैंक अफ इण्डियासँग ऋण लिएको छ ।

७, फागुन २०७५ मा सहजपुर–बीपीनगर–बोगटान सडक कालोपत्रेको डोटीको बीपीनगरमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए–यो सडक अबको ३० महिनाभित्र पिच भएर सरर गाडी गुड्नेछ । तपाइँहरुको घरछेउमै पिच सडक हुनेछ । अबको ३० महिनामा यो क्षेत्रको कायापलट हुनेछ ।’ 

शिलान्यासका क्रममा आयोजित सभामा ओलीले सडक कालोपत्रे भएपछि आवतजावतमा सहज हुने भन्दै निर्माणको क्रममा धुलो उड्दा प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्न र ३० महिना पर्खन स्थानीयलाई आग्रह पनि गरेका थिए । सडक निर्माण सक्नुपर्ने सम्झौताको ३० महिनाको अवधि यही जुनमा सकिदैछ । प्रधानमन्त्रीले शिलान्यास गरेको पनि दुई वर्ष पुरा भएको छ तर सर्वसाधारणले अहिले यो सडकमा आवतजावत गर्दा सहजता होइन, निर्माणाधीन भएकाले बरु पहिलेभन्दा झन् सास्ती खेपिरहेका छन् ।

प्रधानमन्त्रीले ३० महिनाभित्र पिच गरिसक्ने बाचा गरेको सडक कालोपत्रेको काम अहिलेसम्म सुरु हुन सकेको छैन । डोजर लगाएर ठाउँठाउँमा सडक खनिएकाले धुलाम्य हुँदा झनै सास्ती हुने गरेको स्थानीयले बताएका छन् । बर्खामा हिलो र अरुबेला धुलोले आवतजावतमा पहिलेको भन्दा बढी सास्ती खेप्नु परिरहेको कैलालीको चुरे गाउँपालिका–१, निगालीका अमर धामीले बताए । 

‘प्रधानमन्त्रीले सडक छिट्टै कालोपत्रे हुन्छ भन्दै भाषण गरेर जानुभो, यता रुख कटानको आदेश नपाएको भनेर काम अघि बढेन ।’ धामीले भने, ‘रुख नभएको ठाउँमा बाटो काटिएको छ । कालोपत्रेको काम नहुँदा हिलो र धुलोले पहिलेको भन्दा आवतजावतमा झन् सास्ती खेप्नु पर्छ ।’ 

करिब ३१ वर्षसम्म कालोपत्रे हुन नसकेको सडक प्रधानमन्त्री स्वय्मले शिलान्यास गरेपछि कच्ची सडक कालोपत्रे हुने स्थानीयले आशा गरेका थिए । सडक कालोपत्रे हुने भएपछि खुशी भएका स्थानीयले धनगढीबाट हेलिकप्टर चढेर सडक शिलान्यास गर्न दलबलसहित बीपीनगर पुगेका प्रधानमन्त्री ओलीलाई ५१ किलोको फुलको मालासमेत पहि¥याएका थिए ।

तर प्रधानमन्त्रीको आश्वासन र आफूहरुले आशा गरेअनुसार काम नभएको चुरे–१, निगालीका चक्र बोहराले बताए । सडक कालोपत्रेको शिलान्यास भए पनि त्यसपछि कामले गति नलिएको उनले बताए । निर्माणाधीन सडकमा आवतजावतमा समस्या हुने गरेको उनले बताए ।

तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले २०४४ सालमा ट्रयाक खोल्ने कामको शिलान्यास गरेको सडक प्रधानमन्त्रीले करिब ३१ वर्षपछि पुनः शिलान्यास गरेका थिए । एक पटक शिलान्यास भइसकेको सडक पुनः शिलान्यास गरिएको भन्दै त्यसबेला कतिपयले आलोचना पनि गरेका थिए । 

हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका खड्काले प्रधानमन्त्रीले लोकप्रियताका लागि सडकको दोस्रो पटक शिलान्यास गरे पनि अगाडि बढाउन चासो नदिएको बताए । वर्षौँअघि शिलान्यास गरेको सडक अझै निर्माण हुन नसक्नु दुखद् भएको उनले बताए ।

 आयोजनाको सुरुको सम्झौता अवधि सकिन लागेको छ । अहिलेसम्म करिब ३५ प्रतिशत काम भएको आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश नपाउँदा कालोपत्रेको काम अगाडि बढाउन नसकिएको उनले बताए । ‘काममा ढिलाइ हुनुको मुख्य कारण रुख कटानको अनुमति नपाउनु हो ।’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘सडकमा पर्ने रुख काट्ने अनुमति नपाउँदा कामै हुन सकेन ।’

मन्त्रीपरिषद्को गत माघ १९ गतेको बैठकले यो सडकमा पर्ने तीन हजार ७९५ वटा रुख कटानको अनुमति दिने निर्णय गरेको छ । उक्त निर्णयपछि रुख कटानको प्रकृया अगाडि बढेको आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा कालोपत्रेका लागि बेस हालिएको छ । रुख नभएका ठाउँमा करिब १० किलोमिटर सडक यो आर्थिक वर्षमा कालोपत्रे हुने आयोजना कार्यालयले जनाएको छ । 

सम्झौता अवधिमा काम नसकिने देखिएपछि सुरुको सम्झौता अवधिमा साढे छ महिना म्याद थप भएको छ तर अहिले पनि कामले गति लिन नसकेको छैन । रुख नभएका ठाउँमा पनि निर्माण कम्पनीले काम नगरेको स्थानीयको आरोप छ । कामको गति र हालसम्मको प्रगति हेर्दा सडक कालोपत्रे हुन करिब डेढ वर्ष लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए । 

यो सडकले कैलाली र डोटीका दर्जनौँ विकट ग्रामीण बस्तीलाई यातायात सुविधासँग जोडेको छ । सडक कालोपत्रे भएमा सडकसँग जोडिएका र आसपासका बस्तीका स्थानीयलाई सहज हुनेछ । निर्माणाधीन ४० किलोमिटरमध्ये करिब १८ किलोमिटर सडक कैलालीमा पर्छ ।