भोलि आउने परिस्थितिका लागि तयार छौं: माओवादी
2021/04/20, 10:46
 
death

सुदूरपश्चिम प्रदेशमा अल्पमतमा परे पनि आफ्नो पार्टी नेतृत्वको सरकार पाँच वर्षसम्म टिकी रहनेमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विश्वस्त देखिएको छ । 

प्रदेश सभामा बहुमत रहेको नेकपा एमाले माधव–खनाल खेमाका बढी प्रदेश सभा सदस्यको हालसम्म समर्थन प्राप्त रहेकाले माओवादी अल्पमतमा परे पनि सरकार फेरबदल नहुनेमा विश्वस्त देखिएको हो । यो प्रदेशमा कर्णालीको जस्तो फ्लोर क्रस गर्नु पर्ने स्थिति नै नआउने सो पार्टीका नेता बताउँछन् । यदि, त्यस्तो परिस्थिति सृजना भएमा कर्णालीको जस्तै हुनेमा उनीहरु आशावादी पनि छन् ।

‘फ्लोर क्रस गर्नु पर्ने अवस्था नै आउँदैन’, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावलले भने । ‘यति, त्यस्तो अवस्था सृजना भयो भने कर्णाली प्रदेशले जुन सन्देश दिएको छ, सुदूरपश्चिमले पनि त्यहि सन्देश दिनेछ ।’ 

माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार पाँच वर्षसम्म सञ्चालनका लागि म्यान्डेट पाएको सो पार्टीका नेताले बताउँदै आएका छन् । म्यान्डेट अनुसार नै सरकार चल्ने भन्दै सो उनीहरु ढुक्क देखिएका छन् । ‘ढुक्कसंग सरकार सञ्चालनका लागि पाँच वर्षको म्यान्डेट प्राप्त गरेका छौं’, रावलले भने । ‘म्यान्डेटभन्दा दायाँबायाँ हुदैन ।’

तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको सुदूरपश्चिम प्रदेश सरकार स्थायित्वको पक्षमा रहेको सचेतक रावलले बताए । उनले दुई तिहाई बहुमत नजिकको सरकार रहेको उल्लेख गर्दै कसैले समर्थन फिर्ता नलिंदासम्म सरकार अल्पतमा नपर्ने जिकिर गरे । ‘कसैले फिर्ता नलिएसम्म सरकार अल्पमतमा पर्दैन’, रावलले भने । 

बहुमत नजिकको प्रदेश सरकार जिवित रहेकाले नयाँ सम्भावनाको बारेमा हालसम्म कुनै छलफलसमेत नगरेको माओवादी नेताले बताएका छन् । यसैगरी, राजनीतिमा हरेक सम्भावना खुल्ला हुने गरेका उल्लेख गर्दै सो पार्टीका नेताले भोलि आउने परिस्थितिका लागि तयार रहेको बताउँदै आएका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा एमालेको २५ जना प्रदेश सभा सदस्य छन् । यसैगरी, १४ जना प्रदेश सभा सदस्य रहेकोमा माओवादीले झपटबहादुर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेपछि सो पार्टीको सदस्य सङ्ख्या अब १३ पुगेको छ ।

बोहराको ठाउँमा प्रदेश सभा सदस्य पद् रिक्त भएको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । २५ जना प्रदेश सभा सदस्य रहेको सबैभन्दा ठूलो दल एमाले पनि दुई खेमामा विभाजित देखिएको छ ।

एमाले ओली पक्षमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, माया तामाङ, लीलाधर भट्ट, पठानसिंह बोहरा र रतन थापा देखिएका छन् । बाँकी रहेको १९ जना सदस्य नेपाल–खनाल पक्षका हुन । नेपाल–खनाल पक्ष सरकारमा रहेको छ । 

१९ जना प्रदेश सभा सदस्य रहेको नेपाल–खनाल पक्षको समर्थन पाएकाले सरकारको नेतृत्व गरिरहेको माओवादी सरकार टिकी रहनेमा ढुक्क देखिएको हो ।