धनगढीका दुई जना संक्रमित सहित परिवारका सदस्यहरु रातभरसँगै वसे, पुष्टि भएको एक दिन हुँदा पनि अस्पताल पुराईएन
 
korona

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई जना कोरोना संक्रमितलाई उनीहरुका परिवारका सदस्यहरुसँगै राखिएको छ । विहीवार कोरोना पुष्टि भएका २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई उपचारका लागि अस्पताल नलगिएको हो । कोरोना पुष्टि भएपछि उनीहरुलाई छुट्टै राख्नुपर्ने भएपनि विहीवार रातभरी परिवारका अन्य सदस्यहरुसँगै राखिएको संक्रमितहरुका परिवारका सदस्यहरुको गुनासो रहेको छ । 

दुबै संक्रमित १४ दिनअघि भारतको दिल्लीबाट एउटै गाडीमा आएर धनगढी उप–महानगरपालिका फुलवारीको पञ्चोदय माविको क्वारेन्टिनमा परिवार सहित एउटै कोठामा बसेका थिए । संक्रमित महिलाका श्रीमान र छोरा तथा संक्रमित पुरुषकी श्रीमती र २७ दिने छोरी एउटै कोठामा बस्दै आएकोमा कोरोना पुष्टि भएपछि पनि अलग नराखेर सँगै राखिएको छ । संक्रमित महिलाका तीन बर्षीय छोरालाई भने घर पठाईएको छ । 

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले संक्रमित दुवै जना परिवारका सदस्यसंगै रहेको स्वीकार गरे । उनले उनीहरुलाई अस्पताल लैजान एम्बुलेन्स नआएको बताए । विद्यालय भरिभराउ भईसकेकोले फरक–फरक कोठामा पनि राख्न नसकिएको वडाध्यक्ष चौधरीले बताए ।  संक्रमित लैजाने एम्बुलेन्स अहिले हसुलिया गएको र त्यहाँबट आएपछि अस्पताल ल्याईने उनले जानकारी दिए ।