थप एक जना कोरोना संक्रमितलाई हेलिकोप्टर मार्फत काठमाडौँ लगियो
2021/05/02, 5:33
 
corona

कोरोना संक्रमण पुष्टि भइ अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट एकजना नेपाली सेनाका नायकलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

जिल्ला अस्पताल दार्चुलामा आइसीयू नभएका कारण उनलाई काठमाडौं रेफर गरिएको हो । काठमाडौंमा नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ती जवानको शरीरमा सामान्य अवस्थामा हुनुपर्ने अक्सिजनको मात्रा निकै कम भएपछि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।

उनका अनुसार  वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालकै आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिदै गएपछि आइतबार रेफर गरिएको हो । 

आज नै सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत  यस अघि काठमाडौँ लगिएको थियो ।