समुदायमा फैलियो कोरोना
2021/05/05, 9:36
 
dd

बैतडीको मेलौली नगरपालिका–७ को तोल्यामा वैशाख १ गते भारतबाट आएका ३२ वर्षीय पुरुषको ज्यान गयो । रुघाखोकी र ज्वरोको कडा लक्षण देखिएका उनी उपचारको लागि कतै गएनन् । यात्राको थकाइले हो भन्दै गाउँमा भएका पूजापाठमा उनी सहभागी भए । भारतबाट आएको करिब ४ दिनपछि उनको मृत्यु भयो ।

उनको मृत्यु भएको केही दिनपछि उनकी ५५ वर्षकी आमालाई पनि रुघाखोकीसँगै ज्वरो आयो । सिकिस्त भइसकेपछि जाँच गर्दा कोरोना पोजिटिभ देखियो । मृतकको सम्पर्कमा आएकाहरूको जाँच गर्दा एकै टोलका ९ जनाका कोरोना देखिएको थियो । उनीहरूमध्ये केही निको भएका छन् । केहीलाई अझै संक्रमणले नछोडेको नगरपालिकाका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए ।

चन्दका अनुसार उक्त घटनाले समुदायमा पनि कोरोना फैलिसकेको देखिएको हो । एक जनाबाट अरू धेरै जनामा फैलिएकोले आजभोलि आफूहरू कन्ट्याक्ट ट्रेसिङको काममा लागिरहेको उनले बताए । ‘ती परिवारको सम्पर्कमा आएकाहरूलाई कोरोना देखिरहेको छ,’ उनले भने, ‘संक्रमण फैलन नदिन बढी संक्रमित देखिएका टोलहरूलाई सिल गरेका छौं, स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य संस्था पठाउने र अन्यलाई होम आइसोलेसनमै बस्न भनेका छौं ।’

यस्तै भारतबाटै आएका दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३३ वर्षीय पुरुषको वैशाख १४ गते उपचारको क्रममा डडेलधुरामा मृत्यु गयो । भारतबाट आएको करिब १ सातापछि उनलाई पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो जाँच गर्दा कोरोना देखियो । जिल्ला अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारको लागि डडेलधुरा पठाइएको थियो ।

उनलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १४ जनाका कोरोना संक्रमण पुष्टि भएको दशरथचन्द नगरपालिका–९ कै जोशीबुंगा स्वास्थ्यचौकीकी इन्चार्ज पुनम चन्दले बताइन् । अहिले त्यो टोलका अन्य स्थानीयसँगै भारतबाट आएकाहरूको स्वाब जाँचको लागि जिल्ला अस्पतालमा पठाउने कार्य भइरहेको उनले जनाए । ‘एकै टोलका धेरैलाई कोरोना देखिएपछि समुदायमा पनि कोरोना फैलिरहेको हुन सक्छ,’ उनले भनिन्, ‘कोरोना देखिएको टोललाई सिल गरिएको छ ।’

भारतबाट आएकाबाट मात्र कोरोना नसरेर ट्राभल हिस्ट्री नभएकालाई पनि गाउँमा कोरोना देखिरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदायमा कोरोना फैलिसकेको छ । कार्यालयका प्रमुख योगेश भट्टले भने, ‘समुदायमा संक्रमण फैलिएको छ । बाहिरतिर कहीं नगएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । यसले संक्रमितहरू समुदायसम्म छन् भन्ने हाम्रो अनुमान छ ।’ मंगलबारसम्म जिल्लामा २ सय ६५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।