एम्बुलेन्स चालकले अध्यक्षको गाडी चालउँदै, महामारीकै बीच विशेषज्ञ डाक्टरको सरुवा
2021/05/05, 4:28
 
dd

जिल्ला अस्पताल डोटीले कोरोना महामारीको समयमा लापर्बाही गर्दै आएको स्थानीयले गुनासो गरेकाछन् । समुदाय स्तरमा फैलिसकेको महामारीका बीच अस्पताल प्रशासन र व्यवस्थानले स्वास्थ्य सेवा प्रभावकारी बनाउनुको सट्टा जनस्वास्थ्य माथि लापर्बाही गर्दै आएको स्थानीयको गुनासो छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढै गएको अवस्थामा सरकारी अस्पतालसँग एम्बुलेन्सको सुविधा नहुनु, एम्बुलेन्स चालकलाई कार्यालयको अध्यक्ष चढ्ने गाडी चलाउँन लगाउनु र माहामारीकै बीचमा विशेषज्ञ डाक्टरको सरुवा गर्नु अस्पतालको गम्भिर लापर्बाही भएको डोटी जेसिज अध्यक्ष विजय ओझाले बताए । बनाउन दिएको एम्बुलेन्स बनेको लामो समय सम्म पनि सञ्चालनमा नल्याउनुले जिल्ला अस्पताल जनस्वास्थ्यप्रति जिम्मेबार नभएको प्रष्ट भएको उनको भनाईछ ।

जिल्ला सदरमुकाममा महामारीको समयमा बिरामी बोक्नका लागि एम्बुलेन्सको अभाव रहेको छ । जिल्ला अस्पतालसँग रहेको दुईटा एम्बुलेन्स प्रयोग बिहिन छन् । जिल्ला अस्पतालसँग रहेका दुई वटा एम्बुलेन्स मध्य एउटा एम्बुलेन्स सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार स्वस्थ्य कार्यालय कैलालीलाई पठाइएको छ भने एउटा एम्बुलेन्स बिग्रेको भन्दै ग्यारेजमा थन्क्याइएको छ ।

अस्पतालसँग अहिलेको अवस्थामा एम्बुलेन्स नभए पनि दुई वटा एम्बुलेन्स चालक छन् । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भट्टले १५/२० दिन अगाडी एउटा एम्बुलेन्स कैलाली पठाएको र एउटा एम्बुलेन्स २५ दिन देखि ग्यारेजमा रहेको बताए । एम्बुलेन्स चालक डम्बर ऐर राजिनामाको प्रकृयामा रहेको र अर्का एम्बुलेन्स चालक रतन धामी जिल्ला अस्पतालको गाडी चलाउँदै आएको सूचना अधिकारी भट्टे जानकारी दिए ।

एम्बुलेन्स  चालक अध्यक्षको गाडी चालक

अस्पतालका एक कर्मचारीले महिनौ देखि जिल्ला अस्पतालका एम्बुलेन्सहरु थन्केको र पछिल्लो समय सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स फिर्ता लिएको बताए । कार्तिक महिनामा जिल्ला अस्पतालले गाडी खरिद गरेको छ । गाडी खरिद गरे देखि अस्पतालले एम्बुलेन्स थन्क्याएर एम्बुलेन्स चालकलाई अस्पतालको गाडी चालक बनाईएको छ ।

अस्पतालको गाडी प्राय जसो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले प्रयोग गर्दै आएकाछन् । एम्बुलेन्स चालकलाई अध्यक्ष जोशीले नीजि चालक जस्तै प्रयोग गर्दै आएको स्रोत बताउँछ । सूचना अधिकारी भट्टले अस्पतालको गाडी कार्यालय प्रमुख, अध्यक्षले प्रयोग गर्दै आएको र पछिल्लो समय अक्सिजन सिलेण्डर बोक्न समेत प्रयोग भएको बताए ।

अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष सोपानसिंह बोहराले २४ घण्टा तयारी अवस्थामा रहनुपर्ने अत्यावस्यक एम्बुलेन्स सेवा महिनौ देखि बन्द हुनु दुःखद रहेको बताए । एम्बुलेन्स सेवा बन्द गरेर एम्बुलेन्स चालकलाई अध्यक्षले आफु चढ्ने गाडी चलाउन लगाउनु गैरजिम्मेबार कार्यभएको बताउँदै उनले महामारीका समयमा अस्पताल प्राशासन र व्यवस्थापनले लापर्बाहीगर्न नहुने बताए ।

जिल्लामा रहेका एम्बुलेन्सहरु सञ्चालनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले विशेष चासो देखाउनु पर्ने उनको भनाईछ । एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानी पारदर्शी हुनुपर्ने र सो आम्दानीबाट एम्बुलेन्स तुरुन्त बनाउनुपर्ने जिम्मेबारी अस्पताल व्यवस्थापनको रहेकाले महिनौ सम्म अस्पताल एम्बुलेन्स बिहिन हुनु अस्पतालको ठुलो लापर्बाही भएको बोहराले बताए ।

एम्बुलेन्स बनेको १० दिन भयो, अस्पतालले लग्दैन

अस्पतालको एउटा एम्बुलेन्स ग्यारेजमा थन्केको दुई महिना बढी भैसकेको छ । दिपायल स्थित दिनेश अटो पार्टस्मा फागुन महिनामा एम्बुलेन्स बनाउन राखिएको थियो । एम्बुलेन्स बनाउन दिएको लामो समय भैसकेको बताउँदै दिनेश अटो पार्टसका सञ्चालक नरेश भण्डारीले गाडी बनेको १५ दिन भन्दा बढी भैसकेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नै गाडी बनाउन कार्यआदेश दिएको भण्डारीले बताए । ‘एम्बुलेन्स बनेको १५ दिन भन्दा बढी भैसक्यो, भण्डारीले भने,‘लैजानुस् भनेर पटक–पटक भने तर लैजान कोही आउँदैन । कहिले कसैको हस्ताक्षर मिलेन भन्छन् , कहिले केही भन्छन् । मेरो भुक्तानी समेत रोकिएको छ ।’

२४ घण्टा जनताको सेवामा रहनुपर्ने एम्बुलेन्स महिनौ देखि ग्यारेजमा थन्किनु सरकारी सम्पतीको दुरुपयोग र अस्पतालको लापर्बाही भएको स्थानीयले गुनासो गर्न थालेकाछन् ।

जिल्ला सदरमुकाममा एम्बुलेन्स अभाव

जिल्ला सदरमुकाम सिलगढीमा एम्बुलेन्सको अभाव रहेको छ । अक्सिजन सुविधा सहितको एम्बुलेन्स सदरमुकाममा नहुँदा बिरामीहरु पास बनाएर अन्य गाडीमा ओसार्नु पर्ने बाध्यता रहेको छ । सदरमुकाममा रहेका तीन वटा एम्बुलेन्स मध्य तीनै प्रयोगमा छैनन् । जिल्ला अस्पतालका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्ुबलेन्स प्रयोगमा नरहेका कारण अभाव देखिएको हो ।
जिल्लामा १५ वटा एम्बुलेन्स भए पनि सदरमुकामका तीन वटा एम्बुलेन्स सञ्चालनमा नहुुँदा अभाव भएको हो । जिल्ला अस्पतालको एउटा एम्बुलेन्स सामाजिक विकास मन्त्रालय अन्तरत कैलाली पठाइएको छ भने अर्को बनेर पनि ग्यारेजमा थन्किएको छ । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स मर्मतका लागि कैलाली पठाइएको छ ।

दिपायलमा शैलेश्वरी अस्पताल र चोपडा हस्पीटलका गरी दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । डोटी जिल्लामा ९ स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तह भित्र भएका बिरामी बोक्ने गरेका छन् । १५ वटा एम्बुलेन्स भएपनी १२ वटा मात्र सञ्चालन रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरिक्षक तेजबिक्रम शाहीले जानकारी दिनु भएको छ । संक्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागी बाहिर लैजान समस्या हुने देखिएको छ ।

कोराना भाईरस कोभिड – १९ संक्रमित बिरामीलाई बोक्नका लागी डोटी जिल्लाका एम्बुलेन्स चालक अनइच्छुक देखिएका छैनन् । चालकहरुले संक्रमित बोक्न नसक्ने बताउदै आएको बिरामीका आफन्तले गुनासो गरेकाछन् ।

कोभिड नियन्त्रण सम्बन्धी न्यूनतमसुरक्षा तथा साबधानी नभएका कारण एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेको एम्बुलेन्स चालकहरु बताउँछन् ।

कोरोना संक्रमित बिरामीलाई बोक्न नसकिने केआईसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनु भएको छ । बोगटीले भने ‘हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र साबधानी बिना काम गर्न सक्ने अवस्था छैन ।’ एम्बुलेन्सका अधिकांस चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् ।

प्रयोगमा छैन भेन्टिलेटर र आइसीयू

अस्पतालमा पछिल्लो समय ८ जना कोरोना संक्रमतिहरु अक्सिजनको भरमा उपचारमा छन् । उनिहरुलाई जुनसुकै बेला भेन्टिलेटर वा आइसीयू आवस्यकता पर्न सक्ने कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले बताए ।

अस्पतालमा दुई सेट आइसीयू र दुई सेट भेन्टिलेटर उपलब्ध छ । सुदूरपश्चिम प्रदेश सरकाले पहिलो चरणको कोरोना महामारीका बेला भेन्टिलेटर र आइसीयू उपलब्ध गराएको थियो । अस्पतालमा जडान भएका आइसीयू र भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । दक्ष जनशक्ति अभाव र अक्सिजन प्लाण्ट नबनेका कारण सञ्चालनमा आउन सकेको छैन ।

आइसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन अस्पतालका तर्फबाट हालसम्म पहल भएको छैन । अस्पतालमा एक जना भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक भएपनि पूर्ण रुपमा सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेको सूचना अधिकारी भट्टले बताए । ईमरजेन्सि परिहाल्यो भने भेन्टिलेटरमा राख्न सकिने उनको भनाई छ ।

तर कोरोना सम्पर्क व्यक्ति फुलाराले अस्पतालमा उपचार भैरहेका केही ब्यक्तिलाई भेन्टिलेटरको आवस्यकता रहेको र अन्यलाई जुनसुकै अवस्थामा आवस्यकता पर्न जाने बताए । भेन्टिलेटरको आवस्कता भएका व्यक्तिलाई अन्यत्र पनि बेड अभाव भएका कारण अक्सिजनमै राख्नुपर्ने बाध्यता रहेको उनको भनाईछ ।

अक्सिजनको कमी

जिल्लामा जटिल स्वास्थ्य समस्या भएका संक्रमित पढ्दै गएपछि अक्सिजनको अभाव हुने अस्पतालले जनाएको छ । धनगढी र डडेल्धुराबाट अक्सिजन मगाउनु पार्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा अहिले भर्ना भएकाहरुमध्य अक्सिजनको आवस्यकता पर्ने थप बिरामी भर्ना भए अक्सिजनको अभाव झेल्नुपर्ने कोरोना फोकल पर्सन फुलाराले बताए । ‘हामीले डडेल्धुरा वा धनगढीबाट अक्सिजन खपत गर्ने हो, फुलाराले भने,‘उतै अक्सिजनको अभाव हुन थालेको छ, हाम्रोमा अक्सिजनको आवस्यकता भएका बिरामी थपिदै गए अक्सिजनको अभाव हुनजान्छ ।’

जिल्ला अस्पतालसँग ३० वटा ठुलो र १५ वटा स्यानो गरी जम्मा ४५ वटा अक्सिजन सिलेण्डर छन् । ति मध्य १५ वटा स्यानो र ५ वटा ठुलो गरी २० वटा सिलिण्डर मौजाद छन् भने १० वटा ठुला सिलिण्डर प्रयोग (सकिने अवस्था)मा छन् । १५ सिलिण्डर खाली रहेको सूचना अधिकारी भट्टले जानकारी दिए । अहिले अक्सिजन उत्पादन हुने सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमै अक्सिजन उत्पादन कम छ । उत्पादन भएको अक्सिजन भन्दा बढी सोही अस्पतालहरुमा खपत हने गरेको छ ।

जिल्लामा बिरामीहरु बढ्दै गएको खण्डमा अक्सिजनको पनि चरम अभाव हुने देखिन्छ । पछिल्लो समय जिल्ला अस्पतालमा रहेको पिसिआरले काम गरिरहेको छैन । पिसिआर फङसनमा छैन । म्यानोल बिधिबाट दैनि ६० नमुना परीक्षण गरिदै आएको छ । केमीकल अभाबका कारण त्या पनि रोकिने अवस्थामा छ ।

महामारीकै बीच विशेषज्ञ डाक्टरको सरुवा

अस्पतालमा कार्यरत एकमात्र नवौँ तहका विशेषज्ञ डा.प्रमोद भट्ट (एमडिजीपी) लाई सरुवा गरिएको छ । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीको पत्राचारका आधारमा स्वास्थ्य मन्त्रालयले ‘२४ घण्टे’ लगाएर काठमाण्डौँ झिकाएको छ ।

डोटी जिल्ला अस्पतालमा नेपाल सरकारबाट नवौँ तहको एकजना एमडिजीपी चिकित्सक मेडिकल सुपरिटेण्डेन्ट रहनेगरी स्वीकृत स्थायी दरबन्दी छ । तर सो दरबन्दी जहिल्यै रिक्त हुन्छ । त्यसबाहेक नेपाल सरकारबाट दुईजना सातौँ÷आठौँ तहका मेडिकल अधिकृत(एमविविएस)को दरबन्दी छ । त्यो पनि अधिकांश समय रिक्त नै रहन्छ ।

धन्न ! निक साईमन ईन्टरनेशनल(एनएसआई) डोटीका लागि बिगत केहीवर्षयता बरदान सावित हुदैआएको छ । सो संस्थाले छात्रबृत्ती करारमा रहेका चिकित्सकलाई उपलब्ध गराएर अस्पताल धानिरहेको अवस्था विगतवर्षयता विद्यमान छ ।

त्यही निक साईमन ईन्टरनेशनको छात्रवृत्ती करारमा रहेका व्यक्ती हुन्–डा.प्रमोद भट्ट(एमडिजीपी) । जिल्ला अस्पताल डोटीमा रहेर काम गरिरहेका उनी एकमात्र नवौँ तहका विशेषज्ञ चिकित्सक थिए ।

डा. प्रमोद २०७६ माघदेखी जिल्ला अस्पताल डोटीका कार्यरत थिए । उनी त्यसबेलादेखी नै जिल्ला अस्पतालमा सबैभन्दा बरिष्ठ चिकित्सक हुन् । यद्यपी अस्पतालमा नेपाल सरकारको स्थायी मेडिकल अधिकृत डा. ज्योती पाण्डे कार्यरत रहेकाले उनैलाई निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु)को जिम्मेवारी थियो । त्यतिबेला करारमा रहेका चिकित्सकलाई मेसुको जिम्मेवारी दिने कानुन पनि थिएन् ।

जव डा. ज्योती अध्ययनका लागि गईन्, तब अस्पतालमा राजनीतिक दाउपेच शुरु भयो । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले गत फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णयले छात्रवृत्ती करारमा रहेका चिकित्सकहरुलाई पनि मेसुको जिम्मेवारी दिनसकिने नीतिगत निर्णय ग¥यो । त्यो निर्णय पनि जिल्ला अस्पताल डोटीलाई लक्षित गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले गराएको स्रोतको दाबी छ ।

अध्यक्ष जोशी नेकपा एमालेका नेता हुन् । नेकपा एमालेबाट केआईसिँह गाउँपालिकाका अध्यक्षका उम्मेदवार समेत रहीसकेका उनी २०७६ आसोजमा जिल्ला अस्पतालमा राजनीतिक नियुक्तीबाट अध्यक्ष भएका हुन् । स्रोतका अनुसार अध्यक्ष जोशीको चाहना र राजनीतिक विचार मिल्ने भएकाले छात्रबृत्ती करारमै रहेका आठौँ तहका मेडिकल अधिकृत डा. प्रकाश ठकुल्लालाई निमित्त मेसु बनाउने थियो सोही अनुसार उनले मन्त्रालयबाटै नीतिगत निर्णय गराए ।

भयो पनि त्यस्तै व्यवस्थापन समितिको पत्राचारमा गत चैत्र ३ गते सामाजिक विकास मन्त्रालयले बरिष्ठ चिकित्सक डा. प्रमोदलाई छाडेर डा.प्रकाशलाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त मेसुको जिम्मेवारी प्रदान ग¥यो । डा. प्रमोदले आफुलाई राजनीतिक कारणले नै मेसुको जिम्मेवारी नदिईएको बताए । ‘म उहाँहरुको पार्टीसंग नजिक थिएन् । त्यसैले जिम्मेवारी दिएनन्,’ उनले भने,‘त्यसमा पनि मेरो कुनै आपत्ती थिएन् ।’

तर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष जोशीले भने राजनीतिक कारण भन्दापनि डा. ठकुल्ला नेपाल सरकारको छात्रवृत्ती करार रहेकाले जिम्मेवारी दिएको दाबी गरे । ‘एनजिओको सेवासुविधा खाने कसरी मेसु हुनसक्छ?,’ उनले प्रतिप्रश्न गरे । यद्यपी निक साईमन ईन्टरनेशनलको छात्रवृत्तीमा रहेर अध्ययन गरी उसैको सेवासुविधा लिएपनि स्वास्थ्य मन्त्रालयकै नियूक्तीमा काम गरिरहेको दाबी गर्दै त्यो भनाई लागु नहुने डा. प्रमोद दाबी गर्छन् ।

चैत्रको पहिलो साता डा. प्रकाशलाई निमित्त मेसुको जिम्मेवारी आईसकेको थियो । त्यसपछि डा. प्रमोदलाई शिविरका लागि बझाङबाट माग आयो । उनी जाने चाहन्थे । तर निमित्त मेसु डा. प्रकाशले उनलाई काज दिएनन् । बिदामै भएपनि उनी बझाङ गए ।

काज नदिएपछि कनिष्ठले पेलेको अनुभूति गर्दै डा. प्रमोदले बरिष्ठतमलाई छाडेर कनिष्ठलाई निमित्त मेसु दिईएको भन्दै सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले चैत्र २६ गते अन्तरिम आदेश जारी गर्दै अन्तिम फैसला नहुदासम्मका लागि डा. प्रकाशले पाएको निमित्त मेसुको जिम्मेवारी कार्यान्वयन नगर्न÷नगराउन निर्देशन दियो ।

सर्वोच्चमा रिट र निमित्त मेसुको जिम्मेवारी कार्यान्वयन नहुने स्थिती देखिएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिसाएर डा. प्रमोदका विरुद्ध निक साईमन ईन्टरनेशनलमा पत्राचार गरे । र २४ घण्टाभित्र डा. प्रमोदलाई झिकाउन उर्दी लगाए । निक साईमन खटाउने र जिम्मेवारी दिने अधिकार आफ्नो नभएको भन्दै पन्छियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले नै उनलाई २४ घण्टे लगाएर डोटीबाट काठमाण्डौँ झिकाएको छ ।

‘डा. प्रमोदसंग मेरो व्यक्तीगत केही छैन् । तर मुद्दा हालेपछि मन दुख्यो,’ अध्यक्ष जोशीले भने,‘त्यसपछि मैले पत्राचार गरेको हु । मैले एनएसआईसंग कुरा गरेको छु । केहीदिनमा उनको ठाउँमा अर्को आउछ ।’