बाजुरामा कोरोनाबाट एक महिलाको मृत्यु
2021/05/05, 4:50
 
aa

जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुरामा दोस्रो लहरको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । 

जिल्लको गौमुलगाउँपालिका ३ घर भइ हाल बडिमालिका नगरपालिका ९ मा अस्थाइ बसोवास गर्दै आएकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् ।

मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। कोरोना पोजिटिभपछि जिल्ला अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको कोरोना फोकल प्रसन चुडामणी पन्तले बताए । 

कोरोना संक्रमित महिला पहिलेदेखि पेटको क्यान्सरबाट ग्रस्रित रहेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीले बताए । कोरोनाबाट मृत महिलाको नेपाली सेनाले आजै दाहासंस्कार गर्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । 

बाजुरामा दोस्रो भेरियन्टसहितको कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि बुधबार बिहान ५ बजेदेखि ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।