डोटीमा एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा अक्सिजन अभाव
2021/05/05, 5:12
 
dd

दोस्रो चरणको कोरोना कहर फैलिएसँगै डोटीमा पनि एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुई महिना अघि भारतबाट आएका मृतक पुरुष स्वास्थ्यमा समस्या देखिएपछि १८ गते जिल्ला अस्पताल भर्ना भएका थिए । उनको २० गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई अक्सिजनको सहारामा राखिएको थियो । कोरोनाले कडा खालको निमोनिया देखिएका उनको बुधवार बिहान ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले हाम्रा कुरालाई जानकारी दिए ।

'जिल्लामा अक्सिजनको अभाव'
जिल्लामा जटिल स्वास्थ्य समस्या भएका सङ्क्रमितहरू बढ्दै गएपछि अक्सिजनको अभाव हुने अस्पतालले जनाएको छ । धनगढी र डडेल्धुराबाट अक्सिजन मगाउनु पर्ने बाध्यता रहेको जिल्ला अस्पतालमा अहिले भर्ना भएकाहरूमध्येमा अक्सिजनको आवश्यकता पर्ने थप बिरामी भर्ना भए अक्सिजनको अभाव झेल्नुपर्ने कोरोना फोकल पर्सन फुलाराले बताए ।

‘हामीले डडेल्धुरा वा धनगढीबाट अक्सिजन खपत गर्ने हो, फुलाराले भने,‘उतै अक्सिजनको अभाव हुन थालेको छ, हाम्रोमा अक्सिजनको आवश्यकता भएका बिरामी थपिँदै गए अक्सिजनको अभाव हुनेछ ।’

अहिले अस्पतालमा अक्सिजनको सहारामा उपचार भइरहेका बिरामीहरूलाई जति बेला पनि भेन्टिलेटर वा आइसियुको आवश्यकता पर्न सक्ने फुलाराले बताए । जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसियुको व्यवस्था नभएको उनले बताए । 

उनले भने,' भेन्टिलेटर र आइसियुमा राख्नुपर्ने बिरामीहरूलाई डडेल्धुरा वा तराइका जिल्लाहरूमा रिफर गर्नुपर्ने हुन्छ । कतिपय बिरामीहरूलाई भेन्टिलेटर र आइसियुको जरुरत पर्न सक्छ भनेर रिफर गर्न खोजेको बताउँदै ,फुलाराले अन्य ठाउँमा बेड खाली नभएका कारण बिरामीका आफन्तको अनुरोधमा अक्सिजनकै भरमा जिल्लामै राखिएको बताए ।'

अक्सिजनको साहायतामा उपचार भइरहेका ८ जना मध्य ५ जनामा कोरोना पुष्टि भैसकेको बताउँदै अन्य ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ उनले भने। जिल्ला अहिलेसम्म २ सय ७७ जना सक्रिय सङ्क्रमितको सङ्ख्या रहेको स्वास्थ्य प्रमुख उद्धव ठगुन्नाले बताए ।