कोरोना संक्रमितलाई बोक्नै मान्दैनन् एम्बुलेन्स चालक
2021/05/06, 10:27
 
dd

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित हुनेको दर वृद्धि हुँदै गएको छ ।

जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना संक्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् ।

चालकले संक्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोराना भाइरसका संक्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ ।

कोरोना संक्रमित बिरामीका आफन्तले फोन गर्दा चालकले आफूहरूसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीय हर्कबहादुर धामीले बताए ।

उनले भने, ‘कोरोना संक्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।’

एम्बुलेन्स चालकहरूले नै कोरोना संक्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकालाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयको गुनासो छ ।

कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरूको भनाइ छ । कोरोना संक्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र विना सुरक्षा बिरामी बोक्न नसकिने केआईसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताए ।

उनले भने, ‘सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौं । सुरक्षा र सावधानी विना काम गर्न कसरी सकिन्छ ?’ 

अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना संक्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताए । उनले भने, ‘एम्बुलेन्स चालकले कोरोना संक्रमित बोक्दिनँ भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।’