पञ्चेश्वर जीप दुर्घटनाः शोकमा डुब्यो देवल गाउँ, मलामी जाने पनि बाँकी रहेनन्
2021/05/06, 10:55
 
dd

चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको पोष्टमार्टम गर्न हि“डेका छ जनाको जीप दुर्घटनामा परेर अस्ताएपछि पञ्चेश्वरको देवल गाउँ शोकमा डुबेको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्द सिंह भण्डारीको सोमबार चट्याङ लागेर मृत्यु भएको थियो । मृतक वडा सदस्यको शवको पोष्टमार्टम गर्न हिडेको जीप मङ्गलबार दुर्घटनामा परेपछि वडा सदस्यसँगै छिमेकी पनि अस्ताएका हुन् ।

वडा सदस्य भण्डारीको शव बोकेको से १ ज १८३ नम्बरको जीप मङ्गलबार दिउँसो २ः ४५ बजे पञ्चेश्वर गाउँपालिका–६, गणमेश्वरको मोडबाट पाँचसय मिटर तलभीरमा खसेको थियो । दुर्घटनामा एकै गाउँका छिमेकीको ज्यान गएपछि अहिले गाउ“मा मलामी जाने मान्छे पनि नभएको स्थानीय युवा अनिल भण्डारीले बताए ।

भण्डारीले भने, ‘एउटै गाउँका मानिस सोत्तर पार्ने गरेर नसोचेको दुर्घटना भयो । वडा सदस्यको पोष्टमार्टम गरेर उतै दाहसंस्कार गर्न भनेर हिडेका छिमेकी कहिल्यै नफर्किने गरेर अस्ताए । दुर्घटनामा मृत्यु हुने २७ वर्षीय हिक्मतसिंह भण्डारी विज्ञान विषयमा स्नातकोत्तर गर्दे थिए । गाउँमा अब हामी दुई तीन जना मात्र युवा छौं । अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । तीन चार जनाले कसरी शव बोकेर मलामी जाने ?’

गाउँमा मलामी जाने मान्छेसमेत नभएपछि मृतक खेमसिंह भण्डारीमा दुई जना छोरा विदेशबाट घर आउँदै गरेको अनिल भण्डारीले बताए । अन्य मृतकका बालबच्चा साना भएकाले परिवारको पालनपोषण गर्ने मान्छेसमेत नभएको स्थानीयले बताएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा जीतसिंह भण्डारीका चार छोरी, एक छोरा र श्रीमति छन ।

अर्का मृतक डम्बरसिंह भण्डारीका तीन÷चार वर्षका दुई छोरी र श्रीमति छन भने खेमसिंह भण्डारीका दुई छोरा वैदेशिक रोजगारीमा छन । अर्का मृतक हिक्मत सिंह भण्डारी अविवाहित हुन । उनी भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा विज्ञान विषयमा स्नातकोत्तर गर्दै थिए । अर्का मृतक दीपक भण्डारीका तीन छोरी, एक छोरा र श्रीमति छन । मृत्यु भएका जिप चालक दशरथचन्द नगरपालिका–४ बस्ने तेजबहादुर बोहराका एक छोरा र श्रीमति छन ।

दुर्घटनामा मृत्यु भएका चालकको परिवारले शव बुझिसकेको र अन्य पञ्चेश्वर गाउँपालिकाको पाँच जनाको शव बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

साँघुरो घुम्ती र ग्रेड नमिलेको सडकका कारण नै दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । दुर्घटना भएको सडक खण्ड सवारी साधन चलाउन अनुमति नपाएको सडक खण्ड हो ।

गतवर्ष पनि सोही सडकखण्डमा जीप दुर्घटना हुँदा शिक्षक सहित स–परिवारले ज्यान गुमाएका थिए । जिल्लामा अधिकाशं स्थानीय तहमा डोजरले जथाभावी खनेका सडकमा कहाली लाग्दा दुर्घटना हुँदा स्थानीयले ज्यान गुमाउँदै आएका छन् ।