बैतडीमा कोरोनाका सक्रिय संक्रमित ६ सय बढी, धेरै संक्रिमत घरमै
2021/05/10, 2:11
 
11

बैतडीका कोरोना संक्रमितहरु होम आइसोलेसनमै रहेका पाइएको छ। कोरोनाको दोस्रो लहर फैलिएयता संक्रमण पुस्टि भएका धेरै जसो संक्रमितहरु अहिले होम आइसोलेसनमै रहेका पाइएको हो।

बैतडीमा ६ सय भन्दा बढी कोरोना सक्रिय संक्रमित छन् तर १ सय १५ जना मात्रै संस्थागत आइसोलेसनमा छन बाँकी सबैजना होम आइसोलेसनमा बसेका छन्। स्वास्थ्य कार्यालय बैतडीका  अनुसार १ सय १५ जना अस्पताल र संस्थागत आइसोलेसनमा छन बाँकी सबै जना होम आइसोलेसनमा बसेका हुन्। 

यहाँँका स्थानीय तहरुले वडा तहमा आइसोलेसन निर्माण गर्न नसक्दा संक्रमितहरु घरमै बस्न बाध्य छन्। प्रथम चरणको कोरोना लहर फैलिएका बेला संस्थागत क्वारिन्टाइन निर्माण गरेर व्यवस्थापन गर्न जुटेका स्थानीय तहरुले भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आइसोलेसन निर्माण नै गर्न सकेका छैनन्।

दशरथचन्द नगरपालिकाले भने प्रत्येक वडामा आइसोलेसन निर्माण गर्ने निर्णय गरेको बताएको छ। संक्रमणको अवस्था हेरेर वडा भित्रका विद्यालयहरुमा आइसोलेसन निर्माण गरिने नगर उपप्रमुख मिना चन्दले जानकारी दिइन्। पाटन नगरपालिकाले  पनि वडा तहमै  आइसोलेसनको निर्माणको तयारी भएको जनाएको छ।

बैतडीको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु संक्रमितहरुले घरमै बस्छौ भनेपछि आइसोलेन निर्माण नगरिएको बताएका छन्। यसरी संक्रमित नागरिकहरुले जे भन्यो उहाँहरुले नै भनेको मानेर स्थानीय सरकारले बस्ने हो र संक्रमितहरुको व्यवस्थापनका लागि उचित किसिमको प्रबन्ध नगर्ने हो भने माहामारीले अनपेक्षित क्षति हुने देखिन्छ।

अहिले कोरोनाको नयाँ भेरियन्टबाट मृत्युदर दिनप्रतिदिन तीब्र बढीरहेका बेला स्थानीय सरकारको हेलचेक्र्याँइ र बेखबरिलोपनाले ठूलो विपत्ति आइलाग्ने स्थानीय नागरिकरुको भनाई छ। 

बैतडीमा कोरोनाका कारण ७ जनाको मृत्यु भइसकेको छ। दशरथचन्द नरगपालिका र पाटन नगरपालिकामा सबै भन्दा बढी संक्रमित रहेका छन्।