अछाम जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालमा नियमित १० संक्रमितलाई अक्सिजन दिँदै आएकोमा सोमबार अक्सिजन पूर्ण रूपमा अभाव भएको जिल्ला अस्पताल अछामकी स्टाफ नर्स तथा सूचना अधिकारी गंगा बुढामगरले बताइन् ।
उनका अनुसार जिल्ला अस्पताल मंगलसेनमा १५ वटा ठूलो र १० साना सिलिन्डर गरी २५ वटा रित्तो सिलिन्डर मात्रै छन् । ‘सानो सिलिन्डरको अक्सिजनले १ घण्टा पनि काम गर्दैन । ठूलो सिलिन्डर प्रयोग गरिने भनेको १५ वटा मात्रै हो । १० जनालाई अहिले अक्सिजन दिइरहेका थियौं,’ उनले भनिन्, ‘अहिले अक्सिजन नहुँदा कन्सन्ट्रेटरबाट काम चलाइरहेका छौं । एक संक्रमितलाई अक्सिजन नै दिनु पर्ने भएकाले बयालपाटा अस्पताल पठाएका छौं । अहिले अक्सिजन नहुँदा अवस्था गाह्रो भएको छ ।’
खाली सिलिन्डरमा अक्सिजन भर्न नेपालगन्ज पठाइएको छ । सिलिन्डर भरिएर जिल्ला अस्पताल पुगेपछि मात्रै अब बिरामीले अक्सिजन पाउने छन् । जिल्ला अस्पतालमा अक्सिजन नपाइने अवस्था आएपछि उपचाररत बिरामी पनि डराउन थालेका छन् ।
‘बाँचौंला भनेर अस्पताल आउनुपर्ने यहाँ नै अक्सिजन पाइँदैन । अप्ठ्यारो भइहाल्यो भने हत्तपत्त हेलिकप्टर बोलाएर काठमाडौं लैजाने हैसियत छैन,’ जिल्ला अस्पतालमा भर्ना भएका एक संक्रमितका छोराले भने, ‘स्वास्थ्यकर्मीले गर्ने व्यवहारले मात्रै सञ्चो हुँदैन । गरिबहरूले उपचार नपाएर मर्नुपर्ने अवस्था छ । कसैले पनि यी कुरामा ध्यान दिँदैनन् ।’
बयालपाटामा हाइफ्लो बेड
अछामकै बयालपाटा अस्पतालमा हाइफ्लो अक्सिजनको ५ वटा बेड सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले बताए । जटिल संक्रमितका लागि उच्च मात्राको अक्सिजनसहितको थप ५ बेड संचालनमा आएको हो ।
अहिले १५ वटा आइसोलेसन बेडबाट संक्रमितको उपचार भइरकेको पाठकको भनाइ छ । ‘शरीरमा अक्सिजनको मात्रा कम भएका कोरोना संक्रमितका लागि हाइफ्लो बेड प्रयोग गरिने छ,’ डाक्टर पाठकले भने, ‘यहाँ आएका बिरामीलाई अक्सिजन अभावको कारण अन्त रेफर गर्नुपर्ने अवस्था अहिले छैन ।’