स्वास्थ्य सामग्री सहित एन्टिजेन कीट सहयोग
2021/05/22, 9:39
 
dd

बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाउनका लागि स्वास्थ्य सामग्रीसहित एन्टिजेन कीट सहयोग गरिएको छ । मानवीय सेवामा अनेकौँ प्रयास धनगढीले बुढीगङ्गा नगरपालिकालाई शुक्रबार स्वास्थ्य सामग्री र १०० वटा एन्टिजेन कीट सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र एन्टिजेन कीट अभाव भए पनि समन्वय गरेर उक्त संस्थाले १०० वटा एन्टिजेन कीट सहयोग गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए । संस्थाका अध्यक्ष भक्तराज जोशीले नगरप्रमुख शाहलाई १०० एन्टिजेन कीटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त संस्थाले नगरपालिकालाई चार हजार थान सर्जिकल मास्क, ५० थान ग्लोब्स, १० लिटर स्यानिटाइजर, पिपिइ सेट दुई वटा हस्तान्तरण गरेको अध्यक्ष जोशीले राससलाई जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार नगरपालिकाको माग गरेअनुसार संस्थाले स्वास्थ्य सामग्री र एन्टिजेन कीट सहयोग गरेको बताए । एन्टिजेन किट सहयोगपछि नगरपालिकाको ७, ८ र ९ वडामा रहेका ४२ स्थानीयवासीको कोरोना परीक्षण गरिएको छ । उक्त वडामा रहेका स्थानीयवासीको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्र्दा २० जनालाई सङ्क्रमण देखिएको नगरप्रमुख शाहले बताए । 

त्यसैगरी जिल्ला अस्पताल बाजुरालाई दुईवटा अक्सिजन सिपलण्डर सहयोग गरिएको छ । धनगढीमा व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका–९ पैमाका राजेन्द्र खत्रीले आफ्नै लगानीमा दुईवटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको हो । कोरोना भाइरसको सङ्क्रमणबाट उपचाररत बिरामीले अक्सिजन नपाएर अकालमा ज्यान नगुमाउन भनेर सो सिलिण्डर सहयोग गरेको खत्रीले राससलाई बताए । उनले जिल्ला अस्पताल बाजुरामा भेन्टिलेटर, आइसीयू स्थापनाका लागि रु ५१ हजार सहयोग गर्दै अभियानसमेत चलाएका छन् ।