अस्पतालमा डाक्टर छैनन्
2021/05/30, 9:33
 
dd

पहिलो चरणको कोरोना फैलिएपछि संघीय सरकारले सबै पालिकामा ५ बेडको कोरोना अस्पताल बनाउन निर्देशन दियो । यसका लागि सरकारले एक पालिकालाई १० लाखका दरले बजेट पनि पठाएको थियो ।

बैतडीका ९ वटा स्थानीय तहले पनि कोरोना अस्पताल निर्माण गरेका छन् । जिल्ला अस्पतालभित्र पर्ने दशरथचन्द नगरपालिकाबाहेक ३ नगरपालिका र ६ वटा गाउँपालिकाले अस्थायी कोरोना अस्पताल निर्माण गरेर पनि सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार ३/४ महिना अगाडिबाटै पालिकाहरूले अस्पताल सञ्चालनमा ल्याइसकेका थिए । १ जना मेडिकल अधिकृत र २ जना स्टाफ नर्सलाई अस्पतालमा नियुक्त गर्नुपर्ने पनि सरकारले कार्यक्रममा राखेको थियो ।

स्थानीय तहले अस्पताल बनाए पनि डाक्टर भने पाउन सकेका छैनन् । धेरैपटक विज्ञापन गर्दा पनि सिगास गाउँपालिकाले सञ्चालनका ल्याएको कोरोना अस्पतालको लागि डाक्टर पाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख धनश्याम बोहराले बताए । उनले भने, ‘गत मंसिरमै अस्पताल तयार गरिसकेका थियौं । ५ बेडको भने पनि हामीले १० बेड राखेका थियौं । डाक्टर पाउन भने सकेनौं ।’ ३ पटक विज्ञापन गर्दा पनि डाक्टर नपाएको उनले बताए । उनका अनुसार एक जना स्टाफ नर्सले पनि बीचमै काम छाडेर गएपछि अहिले १ जना स्टाफ नर्स र एक कार्यालय सहयोगीको भरमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आइरहेको छ ।

यस्तै, सुनर्या गाउँपालिकाले पनि अहिलेसम्म डाक्टर पाउन सकेको छैन । पालिकाले डाक्टरको माग गरेको भए पनि डाक्टरको दरखास्त नपरेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने, ‘२ पटक डाक्टर माग गर्दै विज्ञापन खोलेको हो । कोही आएनन् । अहिले पनि प्रोसेसमै छौं । खै कोही आउनुहुन्छ कि ?’ एक जना स्टाफ नर्स र कार्यालय सहयोगीले मात्र अहिले अस्पताल हेरिरहेको उनले सुनाए । यस्तै डिलासैनी गाउँपालिकामा पनि डाक्टर छैनन् । मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिकाले पनि डाक्टर पाउन सकेका छैनन् । पाटन, पुरचौडी नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाका कोरोना अस्पतालले मात्र डाक्टर पाएका छन् ।

जिल्ला अस्पताल बैतडीमै दरबन्दीका डाक्टर छैनन् । एक जना नवौं र २ जना आठौं तहका डाक्टरको दरबन्दी रहेको अस्पताललाई अहिले ३ जना करार सेवाका मेडिकल अधिकृतले धानिरहेका छन् । यस्तै एचए, स्टाफ नर्स र अहेव गरी ३२ जनाको दरबन्दी रहे पनि १४ जना मात्र दरबन्दीका रहेका र अन्य करार सेवाकाले काम गरिरहेका छन् ।