२० घर पहिरोको उच्च जोखिममा
2021/05/30, 9:37
 
aa

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो । 

अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिंचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ ।
 
पहिराले पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ ।  उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुखेसो गरेका छन् । 

यस्तै २० घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ,जौलगायत बाली नष्ट भइसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको छ ।