जयपृथ्वी राजमार्गमा जिप दुर्घटना, चालक सहित ३ जना घाइते
2021/05/31, 10:02
 
2

बैतडीको जयपृथ्वी राजमार्गमा आज बिहान जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र जिप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी रहेका छन् ।

घाइतेमध्ये जिप चालक अधिकारीको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  घाइतेहरुले खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।  

धनगढीबाट बझाङ जान लागेको से १ ज ७२६ नम्बरको जिप आज बिहान साढे ५ बजे जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विन्द्रावनमा दुर्घटनामा परेको हो ।  जिप सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।