रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन् 
2020/06/07, 11:47
 
mal

प्रि–मनसुनी वर्षासँगै अकाशे पानीको भरमा बस्ने कैलालीका किसानको रोपाइँ सुरु भइसकेको छ । जतिबेला पानी प¥यो उतिबेलै हल गोरु लिएर खेतमा निस्कने किसानको भने मल पाउन नसकेको गुनासो छ । ‘यो वर्ष चाँडै पानी परिरहेको छ,’ धनगढी–११ का ६२ वर्षीय किसान देवनारायण चौधरीले भने, ‘तर किसानले मल पाउन सकेका छैनन् ।’ कैलाली थापापुरका गंगा चौधरीले अकाशे पानीमा रोपाइँ सुरु गर्ने किसानलाई यो वर्ष मनसुनले साथ दिएको भएपनि मलको अभाव खट्किएको बताए । ‘मल बिनाको खेतीको उत्पादन राम्रो फल्दैन,’ उनले भने, ‘वर्सेनी रासायानिक मल हालेको खेतलाई त्यही मल चाहिन्छ ।’ उनले केही सहकारी संस्थाले अग्रिम पैसा बुझाएपछि मल दिन लागेको बताए ।

मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले प्रदेश गोदाममा मल सकिएपछि जिल्लाका ६१ वटा सहकारी संस्थालाई सिधै भैरहवाबाट मल उठाउन पठाएको बताए । ‘सुदूरपश्चिम कोटाको ढुवानी गर्न बाँकी रहेको ६ सय मेट्रिक टन थियो,’ उनले भने, ‘ जिल्लामा मल पाउन नसकेका ६१ वटा सहकारीलाई भैरहवा पठाएको हौं ।’ किसानबाट अग्रिम रकम तिनै सहकारी संस्थाले लिएको हुन सक्ने उनले बताए ।

उनले कम्पनीले जिल्लामा रहेका सहकारी संस्थाबाटै किसानलाई मल उपलब्ध गराउने बताए । कैलाली जिल्लामा २ सय ५६ किसानलाई कम्पनीले मल उपलब्ध गराउने गरेको छ । कम्पनीले धान खेतीका लागि ५ हजार मेट्रिक टन मल सहकारी संस्थालाई आपूर्ति गरिसकेको जानकारी दिए । उनका अनुसार प्रदेशको गोदामबाट सहकारी संस्थाले असार १५ अघि मल उपलब्ध मुस्किल छ । ‘रोपाइँ सुरु भएको बेला मलको आवश्यकता सम्बन्धी केन्द्रमा लगातार ताकेता गरिरहेका छौं,’ उनले भने, ‘तर केन्द्रले भैरहवाको गोदाममा समेत मल अपुग रहेको भन्दै जानकारी गराएको हुँदा असार १५ अघि पठाउन मुस्किल भनेको छ ।’ 

कैलाली जिल्लामा धानका लागि कैलालीमा मात्रै १५ हजारभन्दा बढी मेट्रिक टन मलखादको आवश्यकता पर्ने गरेको छ । कृषि सामाग्री कम्पनीले यो आर्थिक वर्षमा ८ हजार १ सय ८६, डिएपी ५ हजार ५ सय ७२ र पोटास १ सय ५८ मेट्रिक टन वितरण गरेको जनाएको छ । उनले कम्पनीले सुदूरपश्चिम प्रदेशका लागि वार्षिक ३५ हजार मेट्रिक टन माग गरेको बताए । कम्पनीका प्रदेश प्रमुख बोगटीले सुदूरपश्चिमको वार्षिक ३५ हजार मेट्रिक टन माग गर्ने गरेको भएपनि केन्द्रबाट मल नआउने भएकोले मलको अभाव खट्कने गरेको बताए ।

‘धान होस् वा गहुँ जे लगाउने बेलामा पनि किसानले जहिल्यै मलको समस्या भोग्दै आएका छन्,’ कैलाली धनगढीका देवनरायण भट्टले, ‘लकडाउन नभएको बेला सीमावर्ती क्षेत्रका अधिकांश किसानले भारतबाट अवैध रुपमा भित्रिएको कम गुणस्तरको मल प्रयोग गर्दथे । अहिले त्यो रोकिएको छ । त्यसैले बढी हाहाकार भएको छ ।’ सुदूरपश्चिमको अन्न भण्डारको रुपमा रहेको कैलालीमा ७२ हजार हेक्टरमा धान लगाइँदै आइएको छ ।