तेस्रो लहरको त्रास धेरै, तयारी थोरै
2021/06/10, 10:00
 
dd

कोरोना संक्रमणको दोस्रो लहर ओरालो लागेसँगै तेस्रो लहरको चर्चा र त्रास सुरु भइसकेको छ । भारतमा वैज्ञानिकहरूले दुई/तीन महिनापछि तेस्रो लहरको संक्रमण सुरु हुने र जुन बालबालिकाका लागि घातक हुने अनुमान गरेका छन् । त्यसैअनुसार पूर्वतयारी पनि सुरु गरिसकेका छन् । नेपालमा पनि तेस्रो लहरको चर्चा र त्रास निकै बढेको छ । तर त्यसअनुसार पूर्वतयारी भने न्यून देखिन्छ । 

नेपालमा पनि सरकारले रोकथाम तथा उपचारका लागि विभिन्न निर्देशन गरेको छ । अस्पतालहरूमा २० प्रतिशत बेड बालबालिकाका लागि व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । तर सरकारको निर्देशनअनुसार स्रोत साधन नै नहुँदा बालबालिकाको उपचारका लागि बेड व्यवस्थापनमा समस्या देखिएको छ ।

‘हामीले तेस्रो लहर रहर रोकथाम र नियन्त्रणको तयारी त सुरु गरेका छौं तर त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ,’ महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘साना बालबालिका बढी प्रभावित भए अहिलेको आईसीयूले काम गर्दैन, एनआईसीयू चाहिन्छ ।’ उनले यसका लागि प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा जानकारी गरिएको बताए ।

अन्य बेड व्यवस्थापनको काम पनि भइरहेको डा. रोकायाले बताए । उनले तेस्रो लहरले पार्न सक्ने प्रभाव र त्यसका लागि आवश्यक औषधिलगायत अन्य उपचारका विषयमा पनि अध्ययन तथा पूर्वानुमान भइरहेको बताए । ‘भारतमा कस्तो तयारी हुन्छ, उपचार पद्धति कस्तो हुन्छ त्यहीअनुसार हामीले पनि तयारी गर्ने हो,’ उनले भने, ‘त्यहीअनुसार बजेट पनि माग गरिएको छ ।’

अहिले महाकाली अस्पतालमा २ जना बालरोग विशेषज्ञ डाक्टर कार्यरत छन् । उनीहरूसँग पनि आवश्यक परामर्श भइरहेको डा. रोकायाले बताए । ‘दोस्रो भेरिएन्ट भारतबाट भित्रिएको हो, तेस्रो पनि भारतबाटै भित्रिने जोखिम हुन सक्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘यसका लागि नाकामै थप कडाइ र घर फर्किनेको व्यवस्थापनमा जोड दिनुपर्छ ।’ उनले जनचेतनामूलक गतिविधिहरू नकामा सतर्कता अहिलेको जस्तै भएमा तेस्रो भेरिएन्टले बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान गरिएकाले त्यो झनै जोखिम हुन सक्ने बताए ।

भारतमा दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला घर फर्किने नेपालीहरूको व्यवस्थापन सही ढंगले नभएकै कारण समुदायसम्मै संक्रमण फैलिएको विज्ञहरू बताउँछन् । जसका कारण धेरैले ज्यान गुमाउन पुगेको उनीहरूको भनाइ छ । फेरि पनि नाकामा उचित व्यवस्थापन हुन नसके अहिलेभन्दा झनै जोखिम निम्तिन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नाकामा व्यवस्थित होल्डिङ सेन्टरदेखि भारतलगायत जोखिमग्रस्त क्षेत्रबाट फर्किनेलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने विषयमा पनि स्थानीय तहले तयारी थाल्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । गत वर्षझैं व्यवस्थित ढंगले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न सके जोखिम कम हुने उनीहरू बताउँछन् ।

‘केन्द्रबाट पनि पेडियाट्रिक बेड तथा अन्य व्यवस्थापन गर्न निर्देशन भएको छ,’ डा. रोकायाले भने, ‘बालबालिकाका लागि बेड, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा तत्काल जोड दिनुपर्छ ।’ उनले अस्पतालहरूमा अक्सिजनको व्यवस्थापनका लागि प्लान्ट निर्माणलगायतका काम तत्कालै गर्नुपर्ने बताए ।

पछिल्लोपटक दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढेका बेला यहाँका अस्पतालमा अक्सिजनको हाहाकार नै भयो । अक्सिजनकै अभावमा धेरैले ज्यानसमेत गुमाए । फेरि तेस्रो लहर आउँदा अक्सिजनको अभाव नहोला भन्न सकिन्न । त्यसकारण अस्पतालहरूले वैकल्पिक व्यवस्थाहरू अपनाएर तत्काल अक्सिजन आपूर्तिमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाएका छन् । कान्तिपुरले खबर लेखेको छ ।