काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि गत सोमबार अदालतले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। लामिछाने गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए।
त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ बिदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।
त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए।पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो। त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए।