सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेन खेलकुद, बजेट घटेपछि खेलकर्मी निराश
2021/06/16, 3:41
 
ff

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट घटाउँदै लगेको छ । आगामी आर्थिक बर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेपछि सामाजिक विकास मन्त्रालय मातहतका खेलकुद संरचना सञ्चालन गर्न समेत मुस्किल हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशले खेलकुद पूर्वाधार, खेलकुद प्रतियोगितालाई समेटेर सात करोड १० लाख बजेट विनियोजन गरेको छ ।

चालू बर्षमा खेलकुद क्षेत्रका लागि १२ करोड बढि बजेट थियो । प्रदेश सरकारले सोमवार प्रदेशसभामा पेश गरेको बजेटमा खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नति गर्न तीन करोड २० लाख बजेट विनियोजन गरेको उल्लेख छ । चालू बर्षका लागि सोही शिर्षकमा ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

यस्तै, मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालू बर्षका लागि सोही शिर्षकमा एक करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेश स्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

बाजुराको मार्तडीमा बहुउद्येश्यीक मैदान निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन भएको बजेट भाषणमा उल्लेख गरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिमको बजेटमा खेलकुदलाई अपहेलना गरिएको बताए । ‘गण्डकी प्रदेशमा ५५ करोड, कर्णाली प्रदेशमा ५९ करोड , लुम्बिनी प्रदेशमा ३५ करोड, बागमती प्रदेशमा ९० करोड अनि सुदूरपशिम प्रदेशमा खेलकुद बजेट जम्मा ८ करोड छ,’ चन्दले फेसवुकमा लेखेका छन्, ‘अनि खेलकुदका माध्यमबाट प्रदेशको मुहार फेरेको चाहा राक्ने हामी र सम्पूर्ण खेलकुदप्रेमी खेलाडीको सपनामा कुठाराघात गरेको महसुश भयो ।’