क्वारेन्टिनभित्रका किसानको पीडाः ‘सरकार ! खेत्वा जोत्नै रहगिल’
2020/06/08, 5:54
 
kishan

जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र बसिइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन् ।  यो बेला खेतबारी एक सरो जोतिसक्ने समय भएको बताउँदै गौरीगंगा–७, मट्कौनाका किसान तुल्सीराम चौधरीले भने,‘हम्रन हे जल्दी चेक कैदेऊ, सरकार ! खेत्वा जोत्नै रहगिल ।’ (हामीलाई चाँडै चेकजाँच गरिदेऊ, सरकार ! खेत जोत्नै रह्यो ।) क्वारेन्टिन भित्र बस्दा बस्दै थाकिसकेको बताउँदै उनले भने, ‘चाँडै चेकजाँच गरिदिए, घर गएर हलगोरु लगेर खेत जोत्न आँतुर भइसक्यौँ ।’ यो समयमा बाँझो जोत्दा, खेतले पानी सोस्ने र रोपाइँ गर्ने समयमा सहजता हुने उनी बताउँछन् । 

‘जेठ महिनामा हामीले बाँझो खेत जोतेर भ्याउनु पर्छ,’ उनले भने,‘असार पहिलो साता त हामी रोपाइँ सुरु गरिहाल्छौँ ।’ यसपालि क्वारेन्टिनमा रहँदा खेत जोत्ने रहेको गुनासो उनले पोखे । क्वारेन्टिनमा आएको धेरै समय वितिसक्दा पनि आफूहरूको स्वाब संकलन समयमै नगरिदिएको भन्दै आक्रोसित भएका उनले भने,‘सरकारले चाँडै चेकजाँच गरिदिएको भए किसानहरूले बाँझो खेत जोत्न भ्याउँथे ।’ दुई बिघा जमिनमा खेतीपाती गर्दै आएका उनी  भन्छन्,‘म यहाँ क्वारेन्टिन भित्रै कैद छु, उता मेरो दुई बिघा जमिन अहिलेसम्म बाँझै छ, अब कहिले क्वारेन्टिनबाट बाहिर जाउँला र कहिले खेत जोतौला, चिन्ता थपिएको छ ।’  

उनी मात्रै हैनन् अहिले कैलाली, कञ्चनपुरका किसानको पीडा उस्तै छ । यहाँका किसानहरू गहुँबाली छरेर मंसिरमा भारतको रत्नागिरि हानिन्छन् । रत्नागिरिमा आँपको रखवाली गरेर जेठ पहिलो साता घर फिर्छन् र लाग्छन् बर्खे खेतीपातीको चाँजोपाँजो मिलाउन । तर, यसपालि भने कोरोना त्रासले गर्दा ढिलो गरी सीमाबाट नेपाल भित्रिएका उनीहरू गाउँकै स्कुलको क्वारेन्टिनमा कैद छन् ।  अर्का स्थानीय देवनारायण चौधरी पनि क्वारेन्टिन भित्रबाटै बाँझो खेत चियाउँदै छन् । ‘सबैका खेत बाँझै छन्,’ उनले भने,‘सबै किसान अहिले क्वारेन्टिनभित्रै कैद भएकाले होला खेत बाँझै छ ।’ सरकारले चाँडै चेकजाँच गरेर छोडिदिए किसानले समयमै बाली लगाउने तयारी गर्ने बताउँदै उनले भने,‘हामीलाई क्वारेन्टिनबाट चाँडै छोडिदिए हुन्थ्यो ।’  

कैलाली, कञ्चनपुरका किसानहरू सिजनल रोजगारी गरेर भारतबाट घर फर्केको बताउँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘फर्केका सबै किसानहरू अहिले गाउँकै क्वारेन्टिनमा छन् ।’ यो समयमा किसानले दोस्रो पटक खेत जोतिसक्ने बेला भए पनि क्वारेन्टिनभित्र रहेका किसानको खेत भने बाँझै छ । किसानले यो बेला कम्पोष्ट मल खेतबारीमा राख्ने, पहिलो जोगाई गरेर पनि दोस्रो जोताई गरिसक्ने समय भएको बताउँदै उनले भने,‘यो बेला खेत जोतेर ठीक्क पारेका किसान असार पहिलो साता तेस्रो जोताई गरेर रोपाइँ सुरु गरिसक्छन्, तर कोरोना त्रासका कारण किसानले अहिलेसम्म पहिलो जोताई पनि भ्याउन सकेका छैनन् ।’ किसानी गर्नेहरूलाई स्वास्थ्य परीक्षणमा प्राथमिकता दिनुपर्ने बताउँदै उनले भने,‘स्वास्थ्यको आफ्नो नीति होला, तर पनि प्राथमिकताका आधारमा किसानी गर्नेलाई दिनुपथ्र्यो ।’ 

तीन महिने लक डाउनका कारण खाद्य संकट निम्तन सक्ने भन्दै सरोकारवालाले भनिरहँदा अहिले किसानलाई क्वारेन्टिनबाट चाँडै बाहिर निकालेर खेतीपाती तर्फ सहजता बनाइदिनु पर्ने अगुवा किसान रमेश भाट बताउँछन् । ‘खेत जोत्ने यो समयमा किसान जति सबै क्वारेन्टिनमै कैद छन्,’ उनले भने,‘ढिलोगरी किसान क्वारेन्टिनबाट छोडिँदा रोपाइँ गर्न समस्या हुने र अन्न उत्पादनमा कमी हुन सक्ने हुन्छ ।’ बीउ राखिसकेका किसानले खेत जोत्न नपाएर ब्याड बूढो भएमा फसल नदिने हुन सक्ने बताउँदै उनले भने,‘किसानले समयमै खनजोत गरेर ब्याड रोप्न पाएन भने उत्पादनमा कमी आउँछ ।’