कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजदेखि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल÷स्कुटी जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको हो । जोर बिजोर प्रणाली अन्तरगत नै ट्याक्सी र अटो बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ । अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीको जारी निषेधाज्ञामा उल्लेख छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेसँगै आजदेखि खुकुलो पारिएको हो ।
यी क्षेत्रमा प्रतिबन्ध कायमै
भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहेको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्, भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन ।
नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । यस्तै, सार्वजनिक सवारीका साधनहरुको सञ्चालनमा पनि रोक लगाइएको छ ।
यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश