बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कैलालीका एक गुम्बाका संरक्षक धरौटीमा रिहा भएका छन् । यौन हिंसाको आरोपमा पक्राउ परेका गोदावरी नगरपालिका–२ वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामा ९० हजार धरौटी बुझाएर २७ दिनमा थुनामुक्त भएका हुन् ।
जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लामा धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए । लामाविरुद्ध तीन बालिकाका तर्फबाट परेको छुट्टाछुट्टै उजुरीमा अदालतले जनही ३०-३० हजार रुपैयाँ धरौटी माग गरेको थियो । सो रकम बुझाएर लामा मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।
गुम्बामा रहेका बालिकाले आफूहरुमाथि लामाले यौन हिंसा गर्दै आएको कुरा सार्वजनिक भएपछि कैलाली प्रहरीले उनलाई जेठ १३ गते पक्राउ गरेको थियो । लामाविरुद्ध दुई बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुर्नस्थापना केन्द्र धनगढीले बाल यौन दुव्र्यवहारको मुद्दा दर्ता गरेको थियो । बि.स. २०६५ सालमा स्थापना भएको गम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।