कैलालीको गोदावरी नगरपालिकाले आर्थीक वर्ष २०७८/०७९ का लागी १ अर्ब १८ करोड बढीको बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट आज सातौ नगर सभामा पेश गरेको हो ।
नगरसभामा नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८/०७९ का लागी कुल १ अर्व १८ करोड ७१ लाख ५७ हजारको बजेट पेश गरेकी छिन् । चालुतर्फ रु. ६६ करोड २२ लाख ९७ हजार र पुँजीगत तर्फ रु. ५२ करोड ४८ लाख ६० हजार रहेको छ ।
नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु. २० करोड ३५ लाख, सशर्त अनुदानबाट रु. ३८ करोड ५ लाख, राजश्व बाँडफाडँबाट रु. १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट रु. १ करोड राखेको छ ।
यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु. १ करोड ५१ लाख ३५ हजार, राजश्व रु. ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट रु. ११ करोड ७५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट रु. २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।
आज देखी शुरु भएको नगर सभामा गोदावरी नगरपालिका प्रमुख हरि सिं साउँदले पानसमा बत्ती बालेर उदघाटन गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आगामी आर्थीक बर्ष २०७८ /०७९ को निती तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन । कार्यक्रममा नगरसभाका सबै सदस्यहरुको सहभागीता रहेको छ ।
बिगतका केही नगरसभाहरु बहिष्कार गर्दै आएका नेपाली कांग्रेसका जनप्रतिनिधीहरु यो बर्ष भने खुशी देखिएका छन । उनिहरुले नगरसभा मार्फत अहिलेको नेतृत्वलाई बाँकी कार्यकाल पनि मिलेर नै सहकार्य गर्ने बताएका छन् ।