सामाजिक सन्जालको दुरुपयोग गरेर रकम असुल्ने क्रम बढेको छ। अरुको नामको नक्कली फेसबुक आईडी बनाएर विभिन्न व्यक्तिलाई म्यासे गरेर रकम असुली गर्ने क्रम बढेको हो। यसको प्रत्यक्ष सिकार भएका छन् जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महत्तो।
सिडिओ महत्तो अहिले सामाजिक सन्जाल फेसबुकको फेक आईडीबाट सिकार भएका हुन्। सिडिओ रामकुमार महत्तोको नाम र फोटो राखेर नक्कली फेसबुक आईडी बनाइएको छ। उनकै नक्कली नामको फेसबुक म्यासेन्जरमा २० हजार अनलाईन मार्फत ट्रान्सफर गर्न माग गरिएको छ। सिडिओ महत्तोले यो आइडीबाट कसैले रिक्वाईस्ट पठाएमा स्वीकार नगर्न आग्रह गरेका छन्।
यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदको नाम र तस्वीर राखेर नक्कली फेसबुक आईडी खोलेर सामाजिक सन्जालको दुरुपयोग गरेको छ। नेता साउदले सामाजिक सन्जालमा लेखेका छन्, ‘हाल केही दिनदेखि मेरो नाम र तस्बीर राखेर अपरिचित ब्यक्तिबाट झुटा फेसबुक आईडीहरु बनाएर राजनैतिक,सामाजिक र आर्थिक क्षति पुर्याउने दुरासयले त्यसको दुरूपयोग गरिएको जानकारी प्राप्त हुन आएकोले कसैलाई त्यसबाट साथी बन्नका लागि अनुरोध आएका नस्वीकार गर्न समेत अनुरोध छ।’