खप्तड पर्यटन विकासका लागि प्रतिबद्धता
2021/06/26, 10:52
 
aa

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार धनगढीमा आयोजन गरेको खप्तड क्षेत्र पर्यटन विकास प्रतिबद्धता गोष्ठीमा मन्त्रीहरूले छ वटा बुदमा लिखित प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रवक्ता र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । खप्तड क्षेत्रको समग्र पर्यटन विकासका लागि प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै खप्तड क्षेत्र विकासका लागि प्राथमिकताका साथ योजना र बजेट केन्द्रित गर्ने छ,’ प्रतिबद्धता पत्रमा लेखिएको छ । उनीहरूले खप्तड क्षेत्रको पर्यटनको दीगो तथा योजनाबद्ध विकासका लागि गुरुयोजना निर्माण गराउने प्रतिबद्धता पनि जनाएका छन् । खप्तड क्षेत्रको विकासका आधारभुत आवश्यकताका पुर्वाधार विकास योजनाहरू तत्काल निर्माण गराउने प्रतिवद्धता समेत गरिएको छ ।

‘खप्तड क्षेत्रमा पर्यटन विकासका लागि सरोकारवाला निकायसमक्ष प्रभावकारी समन्वय गर्न खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले अग्रसरता लिने छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘खप्तड क्षेत्रमा रहेका प्रचुर पर्यटनको सम्भावनालाई उजागर गर्न राष्ट्रिय तहमा आवश्यक प्रचारप्रसारलाई प्राथमिकता दिन प्रतिबद्ध छौं ।’

खप्तडको समग्र विकासका लागि विद्यमान कानुनी जटिलता फुकाउन सम्बन्धित निकायहरूमा पहल गर्ने, नतिजामुखी विकास योजना कार्यान्वयनमा अग्रसर हुने र निजी क्षेत्रलाई लगानी केन्द्रित गर्न गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । खप्तड क्षेत्रको पर्यटन विकासका लागि लगानी सम्मेलन आयोजना गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत मन्त्रीहरूले जनाएका छन् ।

पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, आर्थिक विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवर, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर, नेपाल पत्रकार महाससंघ सुदूरपश्चिम प्रदेश समिति सचिव हरि जोशी र नाटा सुदूरपश्चिमका महासचिव पदमबहादुर सिंहले पनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा पर्यटन विकास नहुनुमा दीर्घकालीन योजना नहुनु, राष्ट्रिय निकुञ्जको नीतिगत सीमाहरू हुनु, योजनाको अभावमा पुर्वाधार निर्माण हुन नसक्नु लगायतका चूनौति रहेको बताए । उनले समितिले आगामी दिनमा खप्तड क्षेत्र जाने बाटो निर्माण गर्न पहल गर्ने, पर्यटकहरूका लागि खाना तथा बासका लागि होटल तथा जल निर्माणका लागि पहल गर्ने, खप्तड क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना बनाउने, खप्तड क्षेत्रमा लगानी भित्र्याउन सम्मेलन गर्ने, खप्तड बाबा संग्रहालय निर्माण गर्ने लयायतका योजना रहेको बताए ।

कार्यक्रममा आर्थिक मामिला मन्त्री शाहले समितिले काम गर्न चाहेमा प्रदेश सरकारले स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले समितिलाई खटिएर काम गर्न निर्देशन समेत दिए । चारे जिल्लाबाट खप्तडसम्मको बाटो बनाउनु भन्दा सहमति गरेर कुनै एक ठाउँबाट राम्रो बाटो बनाउन उपयुक्त हुने सुझाव दिए ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीले खप्तड क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक रहेको बताए । उनले पनि समितिलाई काम गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै भएका योजनाहरूलाई कार्यान्वयन गर्न निर्देशन दिए । उनले छिट्टै प्रदेश पर्यटन विकास गुरुयोजना र पर्यटन विकास नीति मन्त्रालयले बनाउने बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीले खप्तडमा खेलाडीलाई आकर्षित गर्न गल्फल्याण्ड र सहासिक पर्यटनका लागि जिप लाईन बनाउन आवश्यक रहेको बताइन् । उनले खप्तड क्षेत्रको निरन्तर विकासका लागि तत्कालै गुरुयोजना बनाउन आवश्यक रहेको बताइन् । व्यवसायी गोपाल हमालले खप्तड क्षेत्रको जैविक विविधतालाई नचलाएर पुर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति कुँवर, पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा विक, प्रदेश सभा सदस्य भरतबहादुर खड्का, बलबहादुर सोडारी, देवकी मल्ल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्ष अर्जुन शाह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा आचार्य र नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले आफ्नो धारणा राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।