कर्णाली नदीको पुल भासियो
2021/06/26, 5:11
 
karnali

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ । पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन ।

उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ । उनले पुलमा आवागमन बन्द गरिएको बताए । नदी कटान रोक्नका लागि प्रयास भैरहेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन ।

यो पुल हुलाकी राजमार्ग अन्र्तगत निर्माण भएको हो । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो ।

यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए ।

पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो ।