कोभिड–१९ को दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला तीन दिनमा सङ्क्रमितको मृत्यु दर शून्यमा झरेको छ । गएको ७२ घण्टामा प्रदेशमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
यो अवधिमा एक हजार एक हजार ३ सय ९५ जनाको नमूना परीक्षण गरिएकोमा एक सय २४ जनामा कोभिड– १९ को संक्रमण देखिएको छ । ४ सय ८१ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो ।
प्रदेशमा अहिलेसम्म ४३ हजार ४ सय ६७ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख ५९ हजार ३ सय ८३ जनाको कोभिड–१९को नमूना परीक्षण गरिसकिएको छ । दोस्रो लहरको कोभिड–१९ फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । कोभिड–१९ को रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोभिड–१९ को सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिए पनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमित हुने मध्ये ५७० जना अर्थात एक दशमलव ३ प्रतिशतको मृत्यु भएको छ ।