भारतले सीमावर्ती क्षेत्रमा सडक बनाउँदा ठूल्ठूला चट्टान फोर्ने क्रममा नेपालतिरको भूभाग कमजोर भई पहिरो गएको छ । जसले गर्दा वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा सडक अवरुद्ध बनेको छ ।
भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाउँदा दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिकाको छांगरुसम्मको सम्पर्क टुटेको छ । यहीवेला महाकाली नदीमा पानीको बहाव बढेपछि झन् समस्या थपिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण तथा केही ठाउँमा महाकालीमा नदीको बहावले बाटो अवरुद्ध भएको हो । भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुंगाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा बढी बाटो अवरुद्ध भएको छ ।
सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटो दर्जनौँ बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उनले भने, ‘कैयौँ ठाउँमा गोरेटो बाटो सयौँ मिटर बढी नदीले कटान गरेको छ । बाटोको नामोनिसानै मेटिएको छ ।’
भारतले घाटिबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ । ‘यो क्षेत्रमा नदीकिनार भएर बनाइएको पूरै घोडेटो बाटो भत्किएको छ,’ वडा नम्बर २ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीले भने । यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन । त्योभन्दा माथिल्लो तम्बाकु भीरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको छ । स्थानीयलाई वनजंगलबाट घर फर्किनसमेत कठिनाइ भएको छ ।
भारतको बाटो भएर खलंगा आउनुपर्ने बाध्यता
भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणका लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । कैयौँ पटक डोजर, एस्काभेटर महाकाली नदी मार्फत नेपाल प्रवेश गराउँदै भारतले आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाव अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुने गरेको थियो ।
माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो । त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लिङस्थित सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले केही दिन अघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठुल्ठूला चट्टानहरू नदीमा फालिएकाले नदीको बहाव नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जानकारी दियो ।
यस क्षेत्रमा नेपालले पनि सडक निर्माण गर्दै छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिंकर सडकखण्डको व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका तिंकरसम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ । यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो ।
पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारैकिनार छांगरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएका कारण भारतीय सडकबाट नदीमा ढुंगा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटान परेको हो ।
सेनाले गत वर्ष बनाएकै घोरेटो बाटोसमेत महाकाली नदीले कटानले जोखिममा परेको छ । ‘नेपालतिर भएर व्यासको छांगरु तिंकर जान सकिने अवस्था अब रहेन,’ वडाध्यक्ष बोहराले भने, ‘यो बाटो मर्मत कहिले होला । यति मात्र नभई छांगरुमा नेपाल–भारत जोड्ने सीतापुलसमेत महाकाली नदी कटानको जोखिममा छ । महाकाली नदीले सीतापुल नजिकै रहेको भारतीय एसएसबीको चेकपोस्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको छ । सीतापुल बगायो भने व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था पुगेको छ ।’
वर्षौंदेखि जीर्ण रहेको काठको पुल मर्मत गर्न पटकपटक गाउँपालिकासँग आग्रह गर्दा कुनै सुनुवाइ नभएको वडाध्यक्ष बोहराले बताए । ‘अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरूले भारतको बाटो भएर अहिले खलंगा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलंगासम्म व्यासीका स्थानीय पुग्ने सक्ने अवस्था छैन,’ उनले भने, ‘पैदल हिँडडुल गरे पनि भारतीयहरूसँगै अनुरोध गरेर सदरमुकाम खलंगा र व्यासको छांगरु–तिंकर आउजाउ गर्नुपरेको छ ।’
दार्चुला–तिंकर सडक बनाउँदै नेपाली सेना
सन्तोषबल्लभ पौडेल प्रवक्ता, नेपाली सेनानेपाली सेनाले दार्चुला–तिंकर भन्ज्याङ सडक निर्माणका लागि साउनदेखि तीनवटा क्याम्प सञ्चालन गर्ने भएको छ । दार्चुला सदरमुकाम खलंगादेखि कोठधारसम्म बाटो निर्माण भइसकेको छ भने आगामी आर्थिक वर्षमा सेनाले कोठधारदेखि तिंकरसम्मको ८७ किलोमिटर बाटो निर्माण सुरु गर्नेछ । सेनाले तिंकर भन्ज्याङ्मा पनि इन्जिनियरिङ कार्यदलको एउटा शिविर स्थापना गर्ने भएको छ ।
सडकको सर्भे भइसकेको छ, त्यसको प्रतिवेदन स्वीकृत भएपछि सर्भे अलाइन्मेन्ट बनाइन्छ र लगत्तै काम सुरु हुन्छ । प्राविधिक प्रमुख सेनानीको नेतृत्वमा एक सय ३५ जनाको टोली सडक निर्माणमा खटिएको छ ।
नेपाली सेनाले सुनसेरा र डुम्लिङमा दुईवटा क्याम्प स्थापना गरिसकेको छ । त्यहाँबाट उत्तरतिर र तिंकर भञ्ज्याङमा क्याम्प राखेर दक्षिणतर्फ एकैसाथ बाटो निर्माण सुरु गर्ने सेनाको तयारी छ । आगामी आर्थिक वर्ष दशदेखि १२ किलोमिटरसम्म ट्र्याक खोल्न सकिने सेनाको विश्वास छ । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङ जोड्ने मोटरबाटो हालसम्म निर्माण भएको छैन । दार्चुला सदरमुकामदेखि सुनसेरा हुँदै उत्तरतिर कोठधारसम्म बाटो बनेको छ । कोठधारबाट तिंकरसम्मको ८७ किलोमिटर सडक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।
१४ वैशाख ०७७ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि तिंकरसम्मको ८७ किमि सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला–खलंगा हुँदै तिंकर जोड्ने महाकाली राजमार्गको चार सय २५ किलोमिटर लम्बाइ छ । जसमध्ये खलंगाबाट कोठेधारसम्म सडक माहकाली लोकमार्ग दार्चुला तिंकर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘यहाँसम्मको ४७ किलोमिटर सडक हामी बनाउँछौँ,’ पन्तले भने, ‘अहिलेसम्म ४३ किलोमिटर सडकको ट्र्याक खुलाएका छौँ ।’
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाको इन्जिनियरिङ विभागअन्तर्गत विकास निर्माण कार्यदल बाटो निर्माणमा खटिएको छ । प्राविधिक प्रमुख सेनानीको नेतृत्वमा एक सय ३५ जनाको टोली खटिएको उनले जानकारी दिए । हाल सुनसेरा र डुम्लिङमा सेनाका दुई शिविर छन् । तिंकरमा पनि शिविर राखेर दुवैतर्फबाट बाटो निर्माण गर्ने सेनाको तयारी छ । ‘बाटोको सर्भे भइसकेको छ, त्यसको प्रतिवेदन स्वीकृत भएपछि सर्भे अलाइन्मेन्ट बनाइन्छ र लगत्तै काम सुरु हुन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । यो बाटो निर्माण गर्न सरकारले आगामी आर्थिक वर्षका लागि करिब २२ करोड रुपैयाँ छुट्याएको खबर नयाँ पत्रिकाले लेखेको छ ।