
कैलालीको टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए।

असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो। आज बसेको कार्यपालिका बैठकले वडा विभाजनका विषयमा सहमति जुटाउन नसकेपछि नगरसभा स्थगित गर्ने निर्णय गरेको हो। नगरसभाले वडा विभाजन बाहेकका अन्य सबै प्रस्ताव पारित गरिसकेको सदस्य सचिव अर्यालले जानकारी दिए।
वडा विभाजनको प्रस्तावमा फरक मत राख्दै आएका वडाध्यक्ष रामलाल डगौरा थारुले नगरसभामा आफ्ना तर्फबाट समेत प्रस्ताव लैजाने तयारी भैरहेको बताए। उनले दुईवटै प्रस्ताव उपर नगरसभामा छलफल गर्ने गरी सहमतिको प्रयास भैरहेको जानकारी दिए। नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले वडा विभाजनका विषयमा अझै पनि सहमतिको प्रयास भैरहेको बताए। उनले कार्यपालिका बैठकमा छलफल भैरहेको र आजै राजनीतिक दलहरुसँग पुनः छलफल गरिने जानकारी दिए ।

टीकापुर नगरपालिकामा हाल नौवटा वडा रहेका छन। जनसंख्याका हिसाबले वडा नं.१ नेपालको सबैभन्दा ठूलो वडा मानिन्छ। यहाँ ५० हजार भन्दा बढी जनसंख्या छ। नगरपालिकाले राजनीतिक दलहरुले दिएको सुझाव अनुसार वडा नं.१ लाई ५ र वडा नं. २ लाई २ वटा वडामा विभाजन गर्ने गरी तयारी थालेको छ। वडाध्यक्ष थारु लगायतका केहीले वडा नं. १ लाई ६ वटा वडा बनाउनुपर्ने दावी गरिरहेका छन्। नगरसभामा वडा विभाजनको प्रस्ताव पेश भए वडाध्यक्ष थारुको पक्षमा दुईतिहाई जुट्ने सम्भावना रहेको स्रोतको दावी छ। नगरसभामा ४९ जना सदस्य छन्।
उनको दावीमा वडा नं. १ वनगाउँका बासिन्दाले समेत साथ दिएका छन्। उनीहरुले हिजो वडा नं. १ लाई ६ वडामा विभाजन गर्न माग गर्दै मेयर तपेन्द्रबहादुर रावललाई ज्ञापन पत्र बुझाएका छन्।