कैलालीमा बडघरको जिम्मेवारी थपियो तर सुविधा थपिएन
2020/06/09, 7:02
 
culture

दाङदेखि पश्चिम तराईमा परम्परागतरुपमा रहेको बडघर प्रथा पछिल्लो समय थप परिमार्जन हुन थालेको छ । थारु समुदायमा आदिकालदेखि शुरु भएको बडघर प्रथा अहिले तराईका थारु पहाडी दुवै गाउँमा प्रचलनका रुपमा देख्न पाइन्छ। गाउँमा देखिएका समस्या र विकास निर्माणका बारेमा छलफल गर्नु बडघरको मुख्य काम हो। विगतमा बडघर प्रथा एकलरुपमा चले पनि यतिखेर भने सचिवसहित पाँचजनाको समितिमार्फत सञ्चालन हुने गरेको प्रचलन रहेको छ । यसरी काम गर्नेमध्ये कतिपयले मासिक पारिश्रमिक, कतिपयले अन्नपात लिन्छन् भने कतिले निःशुल्क पनि काम गर्ने गरेको पाइन्छ । समय बदलिँदै गएपछि बडघरको जिम्मेवारी थप भएको छ । यही परिवर्तित अवस्थामा अहिले बडघरले मासिक तलब पाउनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको देखिन्छ । 

थारु समुदायले बडघर प्रथालाई न्याय सम्पादनमा समेत भूमिका दिइनुपर्ने र सेवा सुविधा दिनुपर्ने माग उठाउँदै आएका छन्। बडघरले जिम्मेवारी थपिएपछि सेवा सुविधा न्यून भएको गुनासो गर्न थालेका छन्। अर्कातर्फ बडघरलाई सङ्घसंस्थाले सम्मान पनि गर्न थालेका छन् । कतिपय वडा कार्यालयले प्रोत्साहनस्वरुप मोबाइल फोन उपलब्ध गराएका छन् भने कतिपयले साइकल दिएका छन । कैलालीको टीकापुरका बडघर बलिराम चौधरीले समाजका सबैखाले अभियान र समस्यालाई सहज निकास दिन नेतृत्वको भूमिका निर्वाह गरिरहेको बताए। समाजका साना ठूला सबैखाले समस्यामा खट्नु परे पनि वार्षिक तलब रु पाँच हजार मात्रै भएको उनले बताए । “जहाँ समस्या हुन्छ म त्यहाँ पुग्छु, गाउँको भोज भतेरदेखि दुःखका घटनाहरुसम्म पनि बडघरको भूमिका हुन्छ”, बलिरामले भने, “यसरी काम गरे पनि मैले पाउने वर्षभरिको पाँच हजारमात्र हो तर गाउँका मानिस हाम्रो भर मान्छन् ।”

दिव्यपुरका बडघर चेचुराम चौधरी पनि ११ वर्षदेखि बडघरको भूमिका निर्वाह आएका छन्। उनले पनि वार्षिक चार हजारमात्र तलब पाउँछन । “एघार वर्षदेखि बडघरको जिम्मेवारी पूरा गर्दा समाजले वर्षमा रु चार हजारमात्र दिन्छ”, चेचुरामले भने, “गतवर्ष टीकापुर–७ ले मोबाइल वितरण गर्यो। मोबाइल पाउँदा खुशी लागेको छ ।” टीकापुरको बेलुवाका बडघर चौकीदार डगौरा थारु ११ वर्षदेखि बडघरको भूमिकामा छन । डगौराले भने बडघरको भूमिका निर्वाह गरेवापत केही सुविधा पाउँदैनन् । रातदिन गाउँको सेवा गर्ने आफूलाई अतिआवश्यक साइकल, मोबाइल, फोन खर्चजस्ता कार्यमा स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ । “मैले ११ वर्षसम्म बडघरको जिम्मेवारी पूरा गरेको छु, अहिलेसम्म पारिश्रमिक केही पाएको छैन”, थारु भन्छन्, “गाउँलेले मलाई नै चुन्छन्, कसरी हुन्न भन्नु ? दैनिक काममा हिँड्दा व्यक्तिगत खर्च धेरै हुन्छ। अब त सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।”

बडघरले गाउँमा विकास माग गर्ने, स्थानीय बासिन्दाका समस्याको पहिचान गर्ने, विवाद समाधान र सामाजिक अभियानमा सहयोगीको भूमिका निभाउने काम गर्छन् । त्यसबाहेक गाउँका मानिसलाई सूचना दिने काम पनि उनीहरुले नै गर्छन् । बडघर सोमनाथ चौधरी यति धेरै काम गर्ने बडघरका समस्या धेरै रहेको बताउँछन्, “एउटा साइकलसम्म छैन, स्थानीय सरकारले साइकल, मोबाइल जस्ता अति आवश्यक सामान दिनसके काम गर्न पनि सजिलो त हुन्थ्यो”, सोमनाथ भन्छन्, “स्थानीय सरकार गठनपछि बडघरको काम बढेको छ, त्यसैले यही कामका आधारमा पनि अवसर बढाउन जरुरी भइसकेको छ ।”

“बडघरले आर्थिक पाटोका बारेमा गुनासो गरे पनि समाजमा उनीहरुलाई गर्ने सम्मान बेग्लै छ”, रानी जमरा कुलरिया सिँचाइ मूल कुला उपभोक्ता समितिका उपाध्यक्ष लालवीर चौधरीले भने, “हरेक कुला प्रणालीले बडघरको निर्णयलाई मान्यता दिने गरेको छ” उनले प्रत्येक कुलाअन्तर्गतका बडघरलाई वर्षेनी सम्मान गर्ने परम्पराको थालनी भएको बताए । “जमरा समितिले अहिलेसम्म २५ जनालाई सम्मान गरिसक्यो । बडघर प्रणालीले समाजमा एकताको भावनालाई जोड दिँदै आएको छ”, चौधरीले भने, “पछिल्लो समय बडघर प्रणाली एकल प्रणालीबाट सामूहिक प्रणालीमा परिवर्तन भएको छ जसले झनै विश्वास बढेको पाइन्छ ।” प्रत्येक टोलमा एउटा बडघर, सचिव, उप बडघर, चिराकी र चौकिदार हुन्छन् । 

टीकापुरका हरेक वडामा पाँचदेखि आठ बडघर समिति छन् । समुदायमा हरेक वर्ष माघ महिनामा बडघर चयन गरिँदै आएको छ। माघ महिना थारु समुदायको नयाँ वर्षका रुपमा मानिन्छ। यसरी चयन गर्दा हरेक घरबाट एक जना अनिवार्य उपस्थित हुनुपर्ने नियम छ । विगतमा बडघर समिति निर्विरोधरुपमा चयन हुने गरेको थियो । पछिल्लो समय कतैकतै बडघर चयनमा पनि राजनीतिक गन्ध आउन थालेको गुनासोहरु स्वयं बडघर तथा ती समुदायका नागरिकको रहेको सुनिन्छ । जसले निर्वाचन हुने स्थिति समेत आएको ती समुदायले बताएका छन् । “कतिपय ठाउँमा दुई या तीनजना उम्मेदवार खडा भएका छन”, उपाध्यक्ष लालवीर चौधरीले भने, “हामी सहजीकरण गर्छौं, निर्वाचन हुन दिएका छैनाँैं, निर्वाचन भएमा समाजमा निष्पक्ष भएर काम गर्न कठिन हुन्छ ।”

बडघरले गाउँमा हुने कामकाज र न्यायिक छलफलमा सहजीकरण गर्ने गर्छन् । समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काममा पनि बडघरको भूमिका अग्रणी रहिआएको पाइन्छ । बडघरको चलन कहिलेदेखि चल्यो भन्ने ऐतिहासिक प्रमाण नभएको थारु समुदायका अगुवाहरु बताउँछन्। “गाउँमा हरेक नागरिकले बडघरको निर्णय मान्नुपर्ने चलन तथा मान्यताको विकास भएको छ । त्यसका अतिरिक्त चाडपर्व, बाटो, विद्यालय, कुलोजस्ता सामाजिक कामका साथै गाउँघरमा हुने झैझगडा, जनश्रमदान र खेतीपातीजस्ता विषयहरुमा प्रचलन स्थापित गर्न र सबैलाई मान्य हुने खालको न्याय दिन उनीहरुकै निर्णय लागू हुने गरेको छ”, पूर्वबडघर जितबहादुर चौधरी भन्छन्, “बडघरमा बस्ने भनेको त चौबीसै घण्टा समुदायलाई सेवा गर्छु भनी तयार भएको मानिस हो ।” पछिल्लो समय स्थानीय सरकारले बडघरलाई क्षमता विकास गर्न तालिम दिन थालेका छन् ।

उनीहरुलाई मेलमिलाप केन्द्रमा समावेश गरेर द्वन्द्व व्यवस्थापनमा सहयोगीको भूमिकामा प्रयोग गर्न थालिएको छ। विगतमा बडघर पढेलेखेका थिएनन्, अहिलेका अधिकांश बडघर राम्रोसँग लेखपढ गर्न सक्ने अवस्थाका पनि छन् । “विगतमा न्याय सम्पादनको कामसमेत गर्दै आएका बडघरलाई स्थानीय तहको न्यायिक समितिसँग जोड्न तालिम दिने गरेका छौँ”, जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भने, “स्थानीयस्तरमा न्याय सम्पादनमा बडघरको भूमिका महत्वपूर्ण छ । उनीहरुले आफ्नै तवरले न्याय सम्पादन गर्थे। अब कानूनी पाटोबारे समेत जानकारी दिन थालेका हौँ ।”

टीकापुर नगरपालिका–७ ले वडघरलाई प्रविधिसँग जोड्न गतवर्ष मोबाइल वितरण गयाए । यसवर्ष चिराकीलाई साइकल वितरण गरेको छ । वडाध्यक्ष रामलाल डगौरा थारु बडघरको क्षमता विकासका लागि नगरपालिकाले तालिम गोष्ठीजस्ता कार्यक्रमसमेत गरिरहेको बताउँछन । “बडघरको काम समाजसेवा गर्ने भएकाले स्थानीयवासीले यथाशक्यरुपमा सहयोग पनि गर्ने गरेका हुन्छ”, वडाध्यक्ष थारु भन्छन्, “स्थानीय सरकारले तलब दिनसक्ने अवस्था छैन। तर उनीहरुको सामाजिक सेवाको मूल्याङ्कन हुनुपर्छ भन्ने विषयमा भने कसैको पनि दुई मत छैन ।”